पर्वतारोही पुर्जालाई बेलायतमा मानार्थ विद्यावारिधी उपाधि प्रदान
काठमाडौँ । विश्व कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई बेलायतको लफबोरो विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको छ । पुर्जाले आरोहणका क्षेत्रमा प्राप्त गरेको अविश्वसनीय उपलब्धिलाई सम्मान गर्दै विश्वविद्यालयले आफ्नो शीतकालीन दिक्षान्त समारोहमा उक्त उपाधि दिएको हो ।
दीक्षान्त समारोहमा विश्वविद्यालयप्रति कृतज्ञता प्रकट गर्दै पुर्जाले भने, ‘शिक्षामा जीवन र समुदाय परिवर्तन गर्ने शक्ति हुन्छ । त्यसैले शिक्षा मेरो परोपकारी निम्सदाइ फाउन्डेसनको मुख्य स्तम्भ हो, जुन मैले मेरो जन्मभूमिका पहाडी समुदायलाई फर्काउन मद्दत गर्ने उद्देश्यले स्थापना गरेको छु ।’
पुर्जा लफबरो विश्वविद्यालयका पूर्वछात्र पनि हुन् । उनले विश्वविद्यालयको बिजनेस स्कुलबाट सन २०१४ मा सुरक्षा व्यवस्थापनमा स्नातकोत्तर डिप्लोमा अध्ययन पूरा गरेका थिए ।
सन २०१९ मा उनी पहिलोपटक ६ महिना, ६ दिनमा विश्वका १४ वटा ‘डेथ जोन’ चुचुरो आरोहण गरेपछि सार्वजनिक चर्चामा आएका थिए । उनको अविश्वसनीय यात्रा सन् २०२१ को नेटफ्लिक्स फिल्म ‘१४ पीक्सः नथिंग इज इम्पोसिबल’ मा कैद गरिएको थियो ।
नेपालमा जन्मेका पुर्जाले १६ वर्ष बेलायती सेनामा बिताएका थिए । जसमध्ये उनले ६ वर्ष गोर्खा रेजिमेन्ट र १० वर्ष बेलायतको विशेष बलमा सेवारत थिए ।
प्रतिकृया दिनुहोस्