अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस नेपालमा पनि मनाइँदै

अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस नेपालमा पनि मनाइँदै

काठमाडौं । डिसेम्बर १८ अर्थात् अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस, आज (सोमबार) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने नाराका साथ सोमबार दिवस मनाउन लागिएको हो ।

दिवस पुस ६ गतेसम्म मनाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रायका सचिव केवलप्रसाद भण्डारीका अनुसार सोमबार बिहान विभिन्न सरोकारवाला समेतको सहभागितामा काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । त्यसपछि आप्रवासी श्रमिकका मुद्दामा विभिन्न कार्यक्रम हुनेछ ।

इन्टरनेसनल अरगनाइजेसन फर माइग्रेसन (आइओएम) रिपोर्ट अनुसार विभिन्न मुलुकका २८.१ करोड मानिस एक देशबाट अर्को देशमा बसोबास गरिरहेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार नेपालबाट आर्थिक वर्ष २०५०÷५१ देखि २०७९÷८० सम्म करिब ७२ लाख १४ हजारभन्दा बढी युवा श्रम स्वीकृति लिएर विदेश गएका छन्, जसमा करिब चार लाख महिला छन् ।

पछिल्ला दुई वर्षमा विदेश जानेको संख्या छ लाख ३० हजार र सात लाख ७१ हजार छ । नेपालबाट रोजगारीको खोजीमा सबैभन्दा ठूलो संख्यामा मलेसियालगायत खाडी मुलुकमा युवा जाने गरेका छन् ।

लोकप्रिय