आइपिएल इतिहासकै कीर्तिमानी मूल्य २४ करोड ७५ लाख भारुमा कोलकाताले किन्यो मिचेल स्टार्कलाई
एजेन्सी । अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ को अक्सनमा कीर्तिमानी मूल्यमा कोलकाता पुगेका छन् । कोलकाताले स्टार्कलाई २४ करोड ७५ लाख भारु झन्डै ४० करोड नेपाली रुपैयाँ (३९ करोड ४६ लाख ९४ हजार) मा किनेको हो ।
यो आइपिएल इतिहासमा कुनैपनि खेलाडीले पाएको सर्वाधिक मूल्य हो । यसअघि एक घण्टा अघि मात्रै सनराइजर्स हैदराबादले प्याट कमिन्सलाई २० करोड ५० लाख भारु ( झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको थियो ।
जुन आइपिएल इतिहासकै सर्वाधिक मूल्य थियो । कमिन्स अघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो । स्टार्कले कमिन्सको कीर्तिमान तोड्दै इतिहासमै सर्वाधिक मूल्य पाएका हुन् ।
स्टार्कले अक्सनमा न्यूनतम २ करोड भारु राखेका थिए । सुरुवातमा दिल्ली र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । ९ करोड ६० लाखपछि दिल्लीले मूल्य लगाउन छाडेको थियो । त्यसपछि कोलकाताले मूल्य लगाएको थियो । त्यसपछि गुजरात पनि थएिको थियो । ९ करोड ६० लाखपछि दिल्ली र मुम्बई दुबै पछि हटेका थिए ।
त्यसपछि गुजरात र कोलकाताबीच अक्सनमा प्रतिस्पर्धा भएको थियो । त्यसपछि लगातार प्रतिस्पर्धा हुँदा २४ करोड कटेको थियो । २४ करोड ५० लाख सम्म गुजरातले मूल्य लगाएको थियो । तर त्यसपछि गुजरात पछि हटेको थियो ।
स्टार्क बिग म्याच प्लेयर हुन् । उनको स्वींग, गति र योर्करको सामना गर्न कुनै पनि विपक्षी ब्याटरलाई सहज हुँदैन । २०१५ र २०२३ को एकदिवसीय विश्वकप उपाधि जिताउन स्टार्कको प्रदर्शन महत्वपूर्ण थियो । त्यस्तै २०२१ को टि२० विश्वकप जिताउन पनि महत्वपूर्ण प्रदर्शन गरेका थिए । स्टार्कले नयाँ बलका साथ इन स्वींग र डेथ ओभरमा योर्करका साथ विपक्षी ब्याटरलाई कठिनमा पार्दै आएका छन् ।
स्टार्कले २०१४ मा बेंगलोरबाट आइपिएलमा दिल्लीविरुद्ध डेब्यू गरेका थिए । २०१५ पछि स्टार्कले आइपिएल खेलेका छैनन् । स्टार्कलाई २०१८ को अक्सनमा कोलकाताले ९ करोड ४० लाख भारुमा किनेको थियो । तर चोटका कारण खेलेका थिएनन् ।
प्रतिकृया दिनुहोस्