फागुनसम्म प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्म प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।
शनिबार कांग्रेस बागमती प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दै शर्माले प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका माग पूरा गर्न आग्रह गरेका हुन् ।
उनले काँग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानून आएन भने महासमितिको बैठकबाट निर्णय गरेर काँग्रेसले सिंहदरबार घेर्ने बताए । उनले प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याइँ नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे ।
‘सबै प्रदेश सम्मेलनमा जाँदा प्रदेश बन्यो तर अधिकार दिइएन भन्ने गुनासो छ । युरेनियम र हीरामोतीको खानी मागेको होइन । कानून र अधिकार मागेको हो । त्यो दिन सकिन्छ कि सकिँदैन । त्यो दिन नसकिने कारण के छ ? स्थानीय तहलाई अधिकार चाँडो दिने गरी निजामती, लोकसेवा, प्रहरी सम्बन्धी कानून निर्माण गरेर अधिकार सम्पन्न बनाइन्न भने सिंहदरबार घेर्छौं भन्नुभएको छ । काँग्रेसको महासमितिको बैठक हुँदासम्म कानून आएन भने महासमितिको बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरूसहित उपस्थित हुनेछौँ ।’ उनले भने ।
प्रतिकृया दिनुहोस्