जिल्ला प्रहरी कार्यालय मुगुका नवनिर्मित भवनको उद्घाटन
मुगु । जिल्ला प्रहरी कार्यालय मुगुमा नवनिर्मित भवनको उद्घाटन गरिएको छ । प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट कार्यालय परिसर भित्र नव निर्मित कार्यालय भवन, ब्यारेक, कार्यालय प्रमुख निवास र सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष र भान्सा घरको उद्घाटन गरिएको हो ।
महानिरीक्षक कुँवरको प्रमुख आतिथ्यतामा सुरू भएको कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवर, रारा छायाँनाथ नगरपालिका मुगुका नगर प्रमुख बिष्णुकुमार भाम, सोरू गाउँपालिका मुगुका अध्यक्ष धर्म बहादुर शाही र जिल्ला अदालत मुगुका जिल्ला न्यायाधिश दिलकुमार बर्देवा लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायत, मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर के.सी., ने.प्र.रा.सु. तथा ट्रा.व्य.का. सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम प्रकाश शाह, जिल्ला प्रहरी कार्यालय, मुगुका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापा, जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिहरू लगायत पुर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरी परिवार, नागरिक समाज, पत्रकारहरू लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक कुँवरले भवनहरूको निर्माण कार्यमा उल्लेखनिय भूमिका खेल्ने निर्माण व्यवसायी, कार्यालय प्रमुख, लगायतलाई प्रशंसा पत्र प्रदान गरेका छन् । भौगोलिक कठिनाईका बाबजुद पनि दुरदराजका नागरिकहरूको सुरक्षार्थ अहोरात्र खटिई प्रहरी कर्म र सेवामा दत्तचित्त भई कार्यसम्पादन गरेकोमा संगठनको तर्फबाट विशेष धन्यवाद साथै नागरिकको हरपलको सारथीको रूपमा रहेको प्रहरीलाई समयानुकुल परिमार्जित एवम् सुविधा सम्पन्न बनाउन राज्यले निरन्तर रूपमा गरेको प्रयास र भूमिकाको उच्च प्रशंसा समेत गरेका हुन् ।
भौतिक पूर्वाधारहरू जनमैत्री र प्रभावकारी सेवा प्रवाहका महत्वपूर्ण शर्त रहेको र गुणस्तरिय पूर्वाधारहरूको विकास र निर्माण कार्यले प्रहरीलाई थप उत्साहित भएर जनताको सेवामा खटिन अभिप्रेरित गर्न सहयोग पुगेको चर्चा गर्नु हुँदै जिल्ला प्रहरी कार्यालय परिसर भित्र नवनिर्मीत संरचनाहरूको कारण आगामि दिनमा मुगु प्रहरीको कार्यदक्षता र कार्य क्षमतामा वृद्धी हुने अपेक्षा साथै प्रभावकारी प्रहरी परिचालनद्धारा प्रहरी कार्यमा खरो रूपमा उत्रिन निर्देशन समेत दिए ।
कार्यक्रम मुगुका प्रमुख जिल्ला अधिकारी के.सी.ले जिल्ला प्रहरी कार्यालयलाई आगामि दिनहरूमा प्रहरीको कार्यसम्पादन र कार्यदक्षतामा अभिवृद्धी भई समग्र जिल्लाको शान्ति सुरक्षा र अपराध अनुसन्धानमा उच्च मनोबलका साथ खटिई गुणस्तरिय सेवा प्रवाहमा लाग्न प्रेरणा मिल्ने अपेक्षा गरे ।
कार्यक्रममा रारा छायाँनाथ न.पा.का नगर प्रमुख भामले पछिल्ला दिनहरूमा नेपाल प्रहरी, कर्णाली प्रदेश प्रहरी कार्यालय र मातहत जिल्ला प्रहरी कार्यालयबाट भए गरेका कार्यहरूको उच्च प्रशंसा गर्दै थप व्यवस्थित हुँदै जाने अपेक्षा गरे ।
त्यसैगरी गएको कार्तिक १० गते रारा छायाँनाथ नगरपालिका वडा नं. ६ मन्दु गाउँ स्थित श्रीदेवी बोहोरा, र उनका ३ जना सन्तानहरूको विभत्स हत्या घटनाको सुक्ष्म रूपमा अनुसन्धान गरी अपराधमा संलग्न व्यक्तिहरूलाई तत्कालै पक्राउ गरी यथाशिघ्र कानूनी दायरामा ल्याई सफल अनुसन्धान गरेकोमा महानिरीक्षक कुँवरले कर्णाली प्रदेश प्रहरी प्रमुख भिम प्रसाद ढकाल सम्मान गरेका छन् ।
साथै प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय मुगु लगायत अनुसन्धानमा संलग्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई हार्दिक धन्यवाद सहित सम्मान स्वरूप प्रशंसा पत्र समेत प्रदान गरेका छन् ।
प्रतिकृया दिनुहोस्