प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ । सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारको १ वर्ष कार्याकालमा भएका उपलब्धिको चर्चाका साथै आगामी वर्षको कार्ययोजना समेत सार्वजनिक गर्ने छन् ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो १ वर्षे कार्यकाल सोचेजति उपलब्धिमूलक नभएको बताउँदै आएका छन् । यद्यपि यसबीचमा आफूले धेरै सकारात्मक कामहरु अगाडि बढाएको प्रधानमन्त्रीले दाबी गर्दै आएका छन् ।
सुशासन कायम गर्ने तथा आर्थिक अवस्था सुधारमा आफूले धेरै प्रयास गरेको प्रधानमन्त्रीको दाबी रहने गरेको छ । प्रधानमन्त्री प्रचण्डले अब १ वर्ष आफू सुशासन कायम गर्ने लगायतका काममा अझ बढी केन्द्रित हुने बताउँदै आएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका थिए । तत्कालीन अवस्थामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । पछि राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले नै गठबन्धन फेरेका थिए ।
प्रतिकृया दिनुहोस्