चितवनमा ‘हात्ती तथा पर्यटन महोत्सव’ आजबाट

चितवनमा ‘हात्ती तथा पर्यटन महोत्सव’ आजबाट

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा आज (मंगलबार)देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । महोत्सव सुरु हुनुपूर्व सौराहामा बिहान शोभायात्रा निकाल्ने कार्यक्रम तय भएको छ । चितवन हात्ती महोत्सवमा सञ्चालन गरिँदै आएको गतिविधिलाई रुपान्तरण गर्दै यहाँका व्यवसायीहरूले पर्यटन महोत्सव आयोजना गरेका हुन् ।

पर्यटन विकासको लागि पौष १० गते देखि १४ गतेसम्म मैनाहाचौरमा महोत्सव गर्न लागेको हो । चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७औँ संस्करण सुरु गरिएको हो । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए । यस वर्षको पर्यटन महोत्सवको मुख्य आर्कषण हात्ती सुन्दरी प्रतियोगिता रहेको अध्यक्ष गिरीले बताए ।

महोत्सवलाई आर्कषक बनाउन यहाँका व्यवसायीहरूले चित्रसारी पुलदेखिनै सौराहालाई सजाएका छन् । महोत्सव स्थललाई ध्वजापतकाले सजाइएको छ । कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन ।

२०८० साल सुरु भएपछि सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको संघका अध्यक्ष गिरीले जानकारी दिए । चालु आर्थिक वर्षमा मात्र सौराहामा स्वदेशी तथा विदेशी गरी २ लाख २५ हजार पर्यटक आएका छन् । तीमध्ये एक लाख ३० हजार जना पर्यटकले निकुञ्ज अवलोकन गरेको तथ्याङ्कले देखाएको छ ।

लोकप्रिय