योग्यतामाथि प्रश्न उठाउँदै गभर्नर अधिकारीविरूद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । बिहीबार गभर्नर अधिकारीविरूद्ध रिट दर्ता भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
अधिवक्ता दीपकराज जोशीसहित चार जनाले उनीविरूद्ध केही समयअघि नै रिट निवेदन दिएका थिए । उक्त रिट आजमात्रै दर्ता भएको हो । यसको सुनुवाइ शुक्रबार हुने पनि सूचना अधिकारी घिमिरेले जानकारी दिए ।
गभर्नर अधिकारी २०७६ चैत २४ गते नियुक्त भएका थिए । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० सञ्चालकको योग्यता अनुसार नभएको भन्दै रिट निवेदकले दाबी गरेको छ । उक्त दफाअनुसार नेपाली नागरिक भएको, उच्च नैतिक चरित्र भएको हुनुपर्छ ।
आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको हुनुपर्छ ।
प्रतिकृया दिनुहोस्