सन्दीप नेतृत्वको पर्सा–११ प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

सन्दीप नेतृत्वको पर्सा–११ प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । सन्दीप लामिछाने नेतृत्वको पर्सा इलाभेन दोस्रो संस्करणको प्रो क्लब च्याम्पियनसिप टी–२० प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय क्लब नेपाल आर्मीलाई ३१ रनले स्तब्ध पार्दै पर्सा इलाभेन फाइनलमा प्रवेश गरेको हो ।

लिग चरणमा अपराजित रहेको आर्मी भने खराब ब्याटिङका कारण फाइनल पुग्न चुक्यो । सेमिफाइनलमा पर्सा इलाभेनले दिएको १ सय रनको सामान्य लक्ष्य पछ्याएको आर्मी क्लब १६.२ ओभरमा ६८ रनमै अलआउट भयो । उसका लागि कुशल मल्लले १९ र बसिर अहमदले अविजित १० रन बनाए ।

कप्तान विनोद भण्डारी, रोहित पौडेल, भीम सार्की, राजेश पुलामी, सोमपाल कामी, विवेक यादव र सन्तोष कार्की जस्ता नाम चलेका खेलाडीले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । आर्मीविरुद्ध पर्साको अविस्वसनीय बलिङ प्रदर्शनमा कप्तान सन्दीप लामिछानेले ३.२ ओभरमा १३ रन मात्र खर्चिएर सर्वाधिक ३ विकेट लिए ।

उनले सन्तोष कार्की, रोहित पौडेल र साहब आलमको विकेट लिएका हुन् । यस्तै, अनिल साह, पवन सर्राफ र सम्साद मन्सुरीको नाममा दुई/दुई विकेट रह्यो । त्यस्तै, रञ्जित कुमारले एक विकेट लिए ।

त्यसअघि वीरगञ्जस्थित नारायणी क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको पर्सा इलाभेन १९.४ ओभरमा ९९ रनमा अलआउट भयो । उसका लागि सम्साद मन्सुरीले १७, अनिल साह र रुपेश सिंहले १५/१५ रन बनाए । पवन सर्राफ ११, हसिम हन्सारी र इमरान शेख ९/९, सुरज पटेल ७ तथा कप्तान सन्दीप लामिछाने ६ रनमा आउट भए ।

लोकप्रिय