उच्च अदालतको न्यायाधीश नियुक्तिकोलागि ३९ जनाको नाम सिफारिस
काठमाडौं । उच्च अदालतका न्यायाधीशमा नियुक्ति गर्नको लागि ३९ जनाको नाम सिफारिस गरिएको छ । न्याय परिषदले आज बसेको बैठकले जिल्ला अदालतका २६ न्यायाधीश, न्याय, कानुन र सरकारी वकिलबाट ४ कर्मचारी र ९ वकिललाई उच्च अदालतको न्यायाधीश बनाउन सिफारिस गरेको हो ।
यसअघि बनाएको मापदण्डलाई स्थगित गरी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको परिषद् स्रोतले जानकारी दिएको छ । यस अघि उच्च अदालतको न्यायाधीशका लागि कार्यसम्पादनमा अब्बल भएका जिल्ला न्यायाधीश र कम्तिमा प्रथम श्रेणीका कर्मचारीलाई वरिष्ठताका आधारमा, १० वर्ष निरन्तर वकालत गरेका वकिलमध्ये पनि वर्षमा पाँच वटाका दरले कम्तीमा सय वटा मुद्दामा बहस गरेका र तीन वर्षसम्म निरन्तर आयकर तिरेका अधिवक्ताहरूले आवदेन दिन पाउने मापदण्ड तय गरिएको थियो ।
यो मापदण्डभित्र परेका न्यायाधीश र वकिलहरूको आवेदन परेपछि कार्यसम्पादन, फैसला, बहस, नैतिक आचरण लगायतका पक्षहरू हेरेर सर्ट लिष्ट तयार पारिन्थ्यो । त्यसमध्ये पनि अब्बललाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने मापदण्ड थियो ।
यो मापदण्ड केही समयअघि स्थगित गरेको थियो । त्यसपछि अहिले उच्च अदालतमा न्यायाधीश सिफारिस गरिएको हो ।
प्रतिकृया दिनुहोस्