राष्ट्रपति पौडेल आज बुटवल जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (शुक्रबार) बुटवल जाने भएका छन् । बुटवल उपमहानगरपालिका–१ मा रहेको जितगढी किल्ला हस्तान्तरणको लागि राष्ट्रपति पौडेल बुटवल जान लागेका हुन् । उनी बिहान साढे १० बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत बुटवल जान लागेका हुन् ।
जितगढी किल्लालाई आज नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्दै छ । युद्धमार्फत आफ्नो साम्राज्य बिस्तार गर्दै हिंडेको ईष्ट ईण्डिया कम्पनीलाई पराजित गरि जितगढीमा नेपाली फौजले विजयको झण्डा फहराएको थियो ।
अंग्रेज फौजलाई हराएर विश्वभर नेपालीको शिर उँचो बनाएपनि ओझेलमा परेको जितगढीमा नेपाली सेनाको अगुवाईमा बुटवल उपमहानगरपालिकाले विभिन्न ऐतिहासिक संरचनाहरु पुनर्निर्माण गरिरहेको थियो । विक्रम सम्वत् १८७१ पुस २१ गतेदेखि १८७२ वैशाख ७ गतेसम्म जितगढीमा नेपाल अंग्रेसका बीचमा युद्ध भएको थियो ।
अंग्रेजका तर्फबाट गभर्नर लर्ड हेस्टिङ्सको निर्देशनमा मेजर जेनेरल सुलिभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वमा आक्रमण गरिएको थियो भने नेपाली फौजको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए । अहिले बुटवल उपमहानगरपालिकाले नेपाली सेनाको सहयोगमा जितगढीको ऐतिहासिक महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रुपमा विकास गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्