राष्ट्रियसभा निर्वाचनः आज मतदाता नामावली प्रकाशन हुँदै
काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (शुक्रबार) मतदाता नामावली प्रकाशन गरिँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभाका मतदाता हुन्छन् ।
प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् ।
माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।
प्रतिकृया दिनुहोस्