राष्ट्रियसभा निर्वाचनः सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक जारी
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक आइतबार अहिले जारी छ । बिहान सवा आठ बजेदेखि प्रधानमन्त्री निवासमा बैठक बसिरहेको बालुवाटार स्रोतले जानकारी दियो । जारी बैठकले उम्मेदवारी बाँडफाँट टुंग्याउने महासचिव देव गुरूङले जानकारी दिए ।
‘हिजो राति अबेरसम्म बसेर छलफल गरेका छौं । आज साँझसम्म उम्मेदवारी बाँडफाँट टुंग्याउने छौं । सबैले आ–आफ्ना कुरा राख्नुभएको छ । सबैलाई विश्वासमा लिएर उम्मेदवारी टुंगो लगाउँछौं,’ उनले भने ।
स्रोतका अनुसार रिक्त १९ सिटमध्ये नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले २ स्थान पाउने गरी प्रस्ताव अघि सारिएको छ । त्यसमा एकीकृत समाजवादी सहमत हुन सकेको छैन । ठूला दुई दलले एकलौटी गर्न खोजेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बैठक बीचमै छाडेर बाहिरिएका थिए ।
एकीकृत समाजवादीले तीन सिटको ‘बटम लाइन’ अघि सारेको छ । तीन सिट नै दाबी गरिरहेको जनता समाजवादी पार्टी पनि नेपाली कांग्रेस र माओवादी केन्द्रले अघि सारेको प्रस्तावमा सहमत छैन । लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति, जनमत पार्टीले पनि भाग खोजेका थिए । उनीहरूले पनि सिट नपाउने पक्कापक्की भइसकेको एकीकृत समाजवादीका एक अर्काले भने ।
प्रतिकृया दिनुहोस्