सुर्खेतमा जारी ३४औँ राष्ट्रिय पुरुष भलिबलमा एपिएफको दोस्रो जित

सुर्खेतमा जारी ३४औँ राष्ट्रिय पुरुष भलिबलमा एपिएफको दोस्रो जित

सुर्खेत । सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा साविक विजेता एपिएफले लगातार दोस्रो जित निकालेको छ । वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा आइतबार भएको तेस्रो खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई ३–१ को सेटमा हराएको हो ।
लुम्बिनीको कडा चुनौतीको सामना गरेको एपिएफ २५–२२,२३–२५ ,२५–२२ र २५– १५ ले विजयी भएको थियो । दोस्रो सेटमा एक समय १७–१० ले पछाडि रहेको खेल लुम्बिनीले उल्टाएको थियो ।

तेस्रो सेटमा भने लुम्बिनीले २२–१८ को अग्रता जोगाउन सकेन । २२–१८ बाट लगातार ७ अंक जोड्दै एपिएफले सेट आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा लुम्बिनीले खासै चुनौती दिन सकेन । समूह ‘ए’ को आफ्नो पहिलो खेलमा एपिएफले कोशी प्रदेशलाई हराएको थियो । बागमतीलाई जितेको लुम्बिनीले नेपाल पुलिस क्लबसँगको खेल गुमाएको थियो ।

समूहमा एपिएफ र पुलिसको समान ६ अंक छ । लुम्बिनी र कोशीको समान ३ अंक छ । बागमती प्रतियोगिताबाट बाहिरि सकेको छ । आइतबार भएको दोस्रो खेलमा गण्डकीले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो । गण्डकीले मधेशमाथि २५–११, २५–१९,२५–१३ को जित निकालेको हो ।

समूह ‘बी’मा गण्डकी र मधेश दुबैले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराएका थिए । समूहमा गण्डकीको ६, त्रिभुवन आर्मी क्लब र कर्णालीको समान ३, मधेशको २, सुदूरपश्चिमको १ अंक छ । कर्णालीले अंक जोड्न सकेको छैन ।

दिनको पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई ३–० २५–१०, २५–१३ र २५–१७ ले हराएको थियो । गत साता बाग्लुङमा बुकी कप को फाइनल खेलेको पुलिसले आफ्नो पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३–० ले हराएको थियो ।

समूह ‘ए’मा बागमतीले भने लगातार तेस्रो हार बेहोरेको छ । बागमती पहिलो खेलमा लुम्बिनी र दोस्रो खेलमा कोशीसँग पराजित भएको थियो । एपिएफसँग मंगलबार हुने अन्तिम खेल अघि नै बागमती प्रतियोगिताबाट बाहिरिएको हो । दिनको अन्तिम खेल आर्मी र सुदूर पश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

लिग कम नकआउटपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ ।

लोकप्रिय