राष्ट्रियसभा १९ सिटको लागि ५२ जनाको उम्मेदवारी

राष्ट्रियसभा १९ सिटको लागि ५२ जनाको उम्मेदवारी

काठमाडौँ । आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज (सोमबार) सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२ जनाको उम्मेदवारी परेको छ ।

कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्ति पूर्णरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुने कार्यसूची रहेको छ ।

लोकप्रिय