कोरियन भाषा परीक्षा तीन चरणमा हुँदै, पहिलो चरणको परीक्षा माघ ६ गते

कोरियन भाषा परीक्षा तीन चरणमा हुँदै, पहिलो चरणको परीक्षा माघ ६ गते

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षा तीन चरणमा निर्धारण गरिएको छ । उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो ।

ईपीएस मार्फत कामदार छनोट गर्दै आएको कोरियाली सरकारी निकाय एचआरडी कोरियाले नेपाल सरकारलाई जानकारी गराएको हो । वैदेशिक रोजगार विभागसँगको बैठकमा भाषा परीक्षा तीन चरणमा हुने बताएको हो ।

पहिलो चरणको परीक्षा जनवरी २० अर्थात् माघ ६ गतेदेखि हुने भएको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको भाषा परीक्षा हुनेछ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले कोरिया पक्षले तीन चरणमा भाषा परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको बताए । पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइनेछ । त्यस्तै दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिनेगरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको उनको भनाई छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुनेछ ।

उत्पादनमूलक क्षेत्रका लागि १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए । जसमा पहिलो पटक १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । भने त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए ।

लोकप्रिय