काठमाडौं महानगरको नगरसभा स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ । अघिल्लो कार्यपालिकाको बैठकबाट निर्णयअनुसार आज नगरसभा गरिने तय भएपनि अन्तिम समयमा बैठक स्थगित भएको हो । काठमाडौं महानगरपालिका–८ का वडाध्यक्ष आशमान संगतले नगरसभा स्थगित भएको जानकारी दिए ।
तर, के कारणले स्थगित भएको भन्नेबारे भने आफूहरूलाई जानकारी नदिइएको वडाध्यक्ष संगतले बताए । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको मुछिएको घटनालाई लिएर नगरसभामा विरोध हुने भएपछि महानगरपालिकाले नगरसभा नै स्थगित गरिएको बताइएको छ ।
अधिकारीमाथि कार्यपालिकाले गरेको निर्णय हेरफेर गरी प्रमाणीकरण गरेको आरोप छ । पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो । तर त्यसमा वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले नियतवश आफ्नी छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी ६ जना बनाएको आरोप छ ।
यसमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीको पनि संलग्नता भेटिएपछि सचिवालयले उनलाई छानबिन नसकुञ्जेल बिदामा बस्न भनेको थियो । तर छानबिन सकिनुअगावै अधिकारी आउने थाहा पाएपछि सचिवालयले ताला लगाएको थियो ।
प्रतिकृया दिनुहोस्