भुवा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर सार्वजनिक बिदा

भुवा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर सार्वजनिक बिदा

काठमाडौँ । विशेष गरी सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व आज (बिहीबार)देखि सुरु भएको छ ।

महाभारतका पाण्डव र कौरव बीचको गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइने गरेको जन विश्वास छ । भुवा पर्व पुषे औँसीका दिनबाट सुरु भइ ३ देखि ५ दिनसम्म मनाइने गरिन्छ । दशैं तथा तिहार पछिको दोस्रो ठूलो पर्वका रुपमा भुवा मनाइन्छ ।

आफन्तसँगको भेटघाट, आपसी सद्भाव, रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधिभर रमाइलो गर्ने गरिन्छ । भुवा पर्व सुदूरपश्चिमका सबै पहाडी जिल्लामा मनाइन्छ । बजाङ, बाजुरा र अछाम जिल्लाका बासिन्दाले यो पर्व विशेष रुपले मनाउँछन् ।

भुवा पर्वमा हरिनु हाल्ने र त्यसको गाथा गाउने तथा ढाल र तरबारसहित भुवा चाली खेल्ने,लाखे नाच नांच्ने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन छ । पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले बिहीबारका लागि प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

लोकप्रिय