३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई

३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई

सुर्खेत । साविक विजेता नेपाल एपिएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउँदै नेपाल पुलिस क्लब ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो । पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो ।

यससँगै पुलिसले समूह चरणमा एपिएफसँग भोगेको हारको बदला लिएको छ । समूह चरणमा पुलिस एपिएफसँग ३–१ को सेटमा पराजित भएको थियो । वर्ष २०८० मा पुलिसले सातौं फाइनल खेल्दा पहिलो उपाधि जित्न सफल भएको हो । पुलिसले पोस्ट बहादुर बोगटी स्मृति कपसँगै ललितपुर मेयर कप, सातौ प्रधानमन्त्री कप एनभिए क्लब लिग, लामाचौर कप, विरजङ स्मृति कप र बुकी कपको फाइनल गुमाएको थियो ।

पुलिसले ललितपुर मेयर कप र बुकी कपमा आर्मी, लामाचौर र विरजङ स्मृति कपमा गण्डकीसँग तथा एनभिए क्लब लिगमा हेल्प नेपाल र पोस्ट बहादुरमा एपिएफसँग हार बेहोरेको थियो ।

पुलिससँगको हारसँगै एपिएफ वर्ष २०८० मा तेस्रो उपाधि जित्नबाट वञ्चित बन्यो । यसअघि एपिएफले प्रथम पोस्ट बहादुर बोगटी स्मृति भलिबल प्रतियोगिता र केशवलाल मेमोरियल खुल्ला भलिबल प्रतियोगिताको उापधि जितेको थियो । पोस्ट बहादुरमा पुलिसलाई र केशवलालमा आर्मीलाई हराएर उपाधि जितेको थियो ।

उपाधिसँगै पुलिसले १ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिहीबार नै विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

२० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो । समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश रहेका छन् । शीर्ष दुई टोलीले सेसमफाइनल खेलेका थिए ।

लोकप्रिय