राष्ट्रियसभा निर्वाचनः उम्मेदवारले पाए चुनाव चिह्न
काठमाडौं । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (शनिबार) उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रम अनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो ।
सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन् ।
आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार छन् । कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा ६/६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।
प्रतिकृया दिनुहोस्