माघे संक्रान्तिः बजारमा तरुल, सखरखण्ड बच्नेको भिँड

काठमाडौँ । माघे संक्रान्तिलाई देशैभर तरुल, सखरखण्ड लगायतका कुराहरु खाएर मनाउने गरिन्छ । काठमाडौं सहित देशका विभिन्न क्षेत्रका तरकारी बजारमा तरुल व्यापारको चटारो छ । काठमाडौंका तरकारी बजारमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेका छन् ।
काठमाडौं उपत्यकामा मुख्य गरी सर्लाहीमा उत्पादन भएका तरुल भित्रिने गर्दछन् । साथै नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्घाखाँची, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटका तरुल पनि काठमाडौंमा माघे संक्रान्तिका लागि बिक्री हुने गर्दछन् ।
नेपाली किसानले धेरै थरीका तरुल खेती गर्दछन् । जसमध्ये घर तरुल, वन तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल अहिले बजारमा बिक्रीका लागि राखिएको देख्न सकिन्छ ।
माघे संक्रान्तिमा तरुलसँगै पिँडालु र सखरखण्ड पनि खाइन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज तरुल ६० देखि ७० रुपैयाँ प्रतिकेजी, पिँडालु ७० देखि ८० रुपैयाँ प्रतिकेजी र सखरखण्ड ७० देखि ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।
प्रतिकृया दिनुहोस्