मुगुमा १४ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा ५ जना पक्राउ

मुगुमा १४ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । मुगुमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । १४ वर्षीया किशोरीमाथि ९ जनाको समूहले सामूहिक बलात्कार गरेको पाइएपछि चार जना भने फरार रहेको खुलेको छ ।

जिल्लाको छायाँनाथ रारा नगरपालिका घर भएकी ती किशोरीमाथि नगर प्रहरीका जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेको आरोप छ । किशोरी गर्भवती भएपछि बल्ल बलात्कारको विषय सार्वजनिक भएको थियो ।

बलात्कारमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुपेन्द्र बुढाथोकीले जानकारी दिए ।

बलात्कार आरोप लागेका कार्कीबाडाका ३० वर्षीय नगर प्रहरी बसन्तबहादुर कार्की, जिल्ला कृषि विकास कार्यालयका कार्यालय सहयोगी सोरु गाउँपालिका–८ का २२ वर्षीय बसन्त रोकाया र १४ वर्ष मुनिका तीन जना किशोरलाई पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरु विरुद्ध बलात्कार कसुरमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायतसहित चार जना भने अझै फरार रहेको प्रहरीले जानकारी दिएको छ । पीडित किशोरीले दिएको जाहेरीअनुसार घटना गत असोज १० गतेको हो ।

लोकप्रिय