१९औँ शिखर सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन बुधबार राति युगाण्डा प्रस्थान गरेका छन् ।
उनी कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगाण्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीकी पुत्री गङ्गा दाहाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी छन् ।
प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि उनी गणतन्त्र युगाण्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा समेत सहभागी हुनेछन् ।
शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री यही माघ ७ गते बिहान काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको सचिवालयले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्