ट्याक्टरको ट्रलि जडान अनुमती लिन मात्रै अवैध १० हजार असुलेको आरोप

ट्याक्टरको ट्रलि जडान अनुमती लिन मात्रै अवैध १० हजार असुलेको आरोप

काठमाडौँ । यातायात कार्यालय लहान, सिरहाका ईञ्जिनियर रामानन्द साहले ट्याक्टरको ट्रली जडान अनुमती दिन १० हजार रूपैयाँ अनाधिकृत रूपमा लिने गरेको आरोप किसानहरूले लगाएका छन् । उनको असुली धन्दाबारे समाचारहरू पनि बाहिरिएका छन् ।

‘ट्याक्टर किनेरमात्रै हुँदैन । ट्रलि जडानका लागि यातायात कार्यालयसँग अनुमती लिनुपर्ने प्रावधान छ । ट्रलि जडान अनुमती लिन जाँदा यातायात कार्यालयका ईञ्जिनियर रामानन्द साहले राजश्व बाहेक थप १० हजार रूपैयाँ लिने गरेकाछन् ।’ लहान २४ का एक किसानले भने ।

सातौँ तहका मेकानिकल ईञ्जिनियर रामानन्दले जाँच पास र रूट अनुमतीमा अवैध असुली गर्दै आएको समाचार हालै बाहिरिएको थियो । समाचार अनुसार सवारी जाँच पास गर्दा प्रति सवारी १५ सय रूपैयाँ अनाधिकृत असुली गर्दै आएको बताईन्छ । सेवाग्राहीहरूका अनुसार सवारी उपलब्ध नभएपनि अनाधिकृत रकम लिएर उनले जाँच पास गरिदिदै आएकाछन् ।

त्यस्तै, रूट अनुमती दिन पनि ईञ्जिनियर साहले अनाधिकृत रकम लिने गरेको सेवाग्राहीहरूको दावि छ । जाँचपासको अनाधिकृत रूपमा १५ सय लिने गरेका साहले ५ हजार रूपैयाँ अनाधिकृत असुली गर्दै आएको स्रोतको दाबि छ ।

जाँच पास र रूट पर्मिट अनुमतीका लागि लहान यातायातमा दैनिक २५ ओटा सवारी साधन आउने कार्यालयले जानकारी दिएको छ । जसको आधारमा इन्जिनियर साहले दैनिक लाखौँको संख्यामा अवैध रकम असुलिरहेका छन् ।

लोकप्रिय