युगाण्डामा प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिङ्घेबिच भेटवार्ता

युगाण्डामा प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिङ्घेबिच भेटवार्ता

काठमाडौँ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबिच भेटवार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला आउने क्रममा दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र हितका मामिलामा समेत दुबै देश एक ठाउँ उभिन आवश्यक रहेकोमा जोड दिए ।

भेटमा प्रधानमन्त्रीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकोमा जोड दिँदै त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताए । सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

भेटवार्तामा श्रीलंकाका राष्ट्रपति डा.सिङ्घेले सार्कलाई सक्रिय तुल्याउन आफूहरूको सहयोग रहने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलंकाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

लोकप्रिय