एमालेले प्रधानमन्त्री दाहाललाई बुझायो ७५१ बुँदे ज्ञापनपत्र
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मध्यपहाडी लोकमार्ग अभियानका क्रममा जनताका मागसहितको ७ सय ५१ बुँदे ज्ञापन पत्र सरकारलाई बुझाएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताका मागसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।
गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सम्पन्न गरेको संकल्प यात्रामा स्थानीयहरूले माग गरेका विषय र आफूहरूको अध्ययन र अनुभवले देखाएका कुरा समेटेर ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अभियानको क्रममा अनुभूत गरेका यहाँका सम्भावना र चुनौती समेटेर ध्यानाकर्षण पत्र बुझाएको बताए ।
उनले विभिन्न ४६ क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग बुझाएको बताए । ज्ञवालीले जसमध्ये गण्डकीबाट १६१, कोशीबाट १७०, सुदूरपश्चिमबाट १३५, वागमतीबाट ११३, कर्णालीबाट ८९, लुम्बिनीबाट ७५, मधेस प्रदेशबाट ८ वटा रहेको बताए ।
सडक, शिक्षा, पर्यटन, कृषि, फलफूल र स्वास्थ्य बढी माग रहेको ज्ञवालीले बताए । उद्योग, ऊर्जा, मोटरेबल पुल, सिँचाई, भवन निर्माण, संस्कृति संरक्षण, भूमि व्यवस्था, बस्ती विकास, खेलकुद, जातीय विभेद, छुवाछुत र हिंसाको विरुद्ध, खानेपानी व्यवस्थापन, श्रोत संरक्षण, भूकम्पको पुनः निर्माण, सुरुङ मार्ग निर्माण, भूक्षय नियन्त्रण, तटबन्ध लगायतका विषय पनि जनताको प्राथमिकतामा रहेको उनले बताए ।
प्रतिकृया दिनुहोस्