सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकमा सुझाव माग

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकमा सुझाव माग

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयक माथि सुझाव माग गरेको छ । सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित प्रयोग गर्न तथा सामाजिक सञ्जालको दुरुपयोगको कारण व्यक्ति र समाजमा पर्नसक्ने नकारात्मक प्रभावलाई निरूत्साहित गर्न ऐन ल्याउन लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाइ सामाजिक सञ्जालको सञ्चालन, व्यवस्थापन तथा नियमन गरिने ऐनमा उल्लेख छ ।

सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सामाजिक सञ्जाल व्यवस्थापन केन्द्रमा दर्ता हुनुपर्ने ऐनमा राखिएको छ ।

साइबर बुुलिङ वा अनलाइन बुलिङ गर्न नहुने, बेनामी वा फेक आइडी बनाउन र प्रयोग गर्न नहुने सामाजिक सञ्जालमा सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने कार्य गर्न नहुने, महिलालाई हानी पुर्याउने सामग्री प्रकाशन वा प्रसारण गर्न नहुने, कसैको आइडी तथा सूचना ह्याक गर्न नहुने र अनुमतिबिना एकको तस्वीर अर्कोलाई दिन वा बिक्री गर्न नपाइने जस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने शर्तहरु रहेका छन् ।

मन्त्रालयले बनाउन लागेको विधेयकमाथि info@mocit.gov.np मार्फत माघ १५ सम्म राय तथा सुझव दिन सक्ने जानकारी दिएको छ ।

लोकप्रिय