लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न सुझाव

लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न सुझाव

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न सरकारलाई सुझाव दिएको छ । एक विज्ञप्ति जारी गर्दै काउन्सिलले लामो समयसम्म लोककल्याणकारी विज्ञापनको वृद्धि नभएको भन्दै दोब्बर गर्न सुझाव दिएको हो । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दिपक खनालद्वारा जारी विज्ञप्तिमा उक्त सुझाव दिने निर्णय बोर्ड बैठकबाट भएको जनाएको छ ।

विज्ञप्तिमा छापा माध्यमलाई टिकाइराख्न समस्या आइरहेको सन्दर्भमा प्रादेशिक र स्थानीय निकायका विज्ञापन–सूचना स्थानीय पत्रपत्रिकाले नपाएको विषयमा समेत काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तै बैठकले स्थानीय र प्रदेश स्तरका सरकारी विज्ञापन÷सूचना प्रकाशनका लागि स्थानीय र प्रदेशस्तरका पत्रपत्रिकालाई प्राथमिकताका साथ उपलब्ध गराउन सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरेको गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै खरिदसम्बन्धी सूचना विद्युतीय खरिदसहित प्रेस काउन्सिल नेपालबाट वर्गीकरणमा परेका पत्रपत्रिकामा प्रकाशन गर्न मिल्ने गरी आवश्यक व्यवस्था गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सुझाव दिने निर्णय समेत भएको विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सबै छापा माध्यम चरम संकटमा भएको बताउँदै स्थानीय र प्रदेशस्तरका छापामाध्यम झन् अस्तित्व रक्षाको चरणमा रहेकाले सूचना प्रविधिको पछिल्लो विकासक्रमसँग जोड्दै सुधार हुन जरुरी रहेको बताए । ‘राज्यस्तरबाट पनि छापा माध्यमलाई बचाउन विशेष ध्यान दिनुपर्ने अवस्था आएकाले यो निर्णय गरिएको हो ।’ उनले भने ।

लोकप्रिय