अफगानिस्ताविरुद्ध इतिहासिक जित निकाल्दै नेपाल यु–१९ विश्वकपको सुपर सिक्समा

अफगानिस्ताविरुद्ध इतिहासिक जित निकाल्दै नेपाल यु–१९ विश्वकपको सुपर सिक्समा

काठमाडौँ ।  नेपाल दक्षिण अफ्रिकामा जारी आईसिसी यु–१९ विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा शुक्रबार अफगानिस्तान माथि १ विकेटको रोमान्चक जित निकाल्दै विश्वकपको सुपर सिक्स चरणमा प्रवेश गरेको हो । अफगानिस्तानले दिएको १४६ रनको मध्यम लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ खेले । उनले ८९ बल खेल्दै ७ चौकाको मद्दतले ५८ रन बनाएका हुन् । नेपालको सुरुवात भने खराब रहेको थियो । नेपालका शीर्ष तीन ब्याटर सस्तैमा पेभेलिएन फर्किएका थिए । अर्जुन चौथो ओभरमा फरिदुन दावुडजाइले १ रनमा रहेको अवस्थामा बोल्ड गरेका थिए ।

यस्तै आज ब्याटिङ अर्डरमा माथि ब्याट गर्न आएका गुलशन झालाई सातौं ओभरमा १२ बलमा १ रन बनाएको अवस्थामा खलिल अहमदले बोल्ड आउट गरे । विपिन रावल पनि खलिलकै बलमा १९ बलमा २ रन बनाएर आउट भए । चौथो विकेटका लागि कप्तान देव खनाल र आकाश त्रिपाठी मिलेर ४९ रनको साझेदारी गरेर इनिङ सम्हालेका थिए ।

२४औं ओभरमा आकाश ३९ बलमा १६ रन बनाएर नासिर खानको बलमा क्याच आउट भए । त्यसपछि नेपालले दुई विकेट छिट्टै गुमाउन पुग्यो । दीपक डुम्रे ५ र दिपेश कंडेल ४ रन बनाएर क्रमशः अरब गुल र नासिर खानको बलमा आउट भए । सुवाष भण्डारी र तिलक भण्डारीले नटआउट रहँदै नेपाललाई जित दिलाए । सुवाष ९ रनमा र तिलक शुन्यमा अविजित रहे ।

त्यसअघि इस्ट लन्डनमा टस हारेर पहिले बलिङ गरेको नेपालले तिव्र गतिका बलर आकाश चन्दको उत्कृष्ट बलिङको मद्दतमा अफगानिस्तानलाई १४५ रनमा समेटेको थियो । सुरुवातदेखि नै घातक रहेको नेपाली बलिङ लाइनअपले अफगानिस्तानलाई ४०.१ ओभरमा १४५ रनमा समेट्न सफल भएको थियो ।

लोकप्रिय