यू–१९ कप्तान देव खनाललाई ५० हजार पुरस्कार
काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नेपाली क्रिकेट टोली (यु १९)का क्याप्टेन देव खनाललाई ५० हजार नगद सहित सम्मान गर्ने भएको छ । शुक्रवार सम्पन्न आइसिसी यू–१९ विश्वकप २०२४ को समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर ६ मा प्रवेश गरेपछि कप्तान खनाललाई सम्मान गर्ने निर्णय गरेको हो ।
तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीका अनुसार खनाल तिलोत्तमा नगरपालिकाका बासिन्दा भएको र उनको कप्तानीमा खेल सुपर ६ मा प्रवेश गरेकोले पुरस्कार स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय भएको हो ।
‘नेपालको शीर उँचो राख्ने काम देव खनालको अगुवाइमा भएको छ उनी हाम्रै पालिकाका बासिन्दा पनि हुन् त्यसैले नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार दिने निर्णय भएको हो’, सुरेन्द्र श्रीले भने ।
यसअघि पनि तिलोत्तमा नगरपालिकाले आइसिसी विश्वकप लिग–२ मा उत्कृष्ट खेल प्रर्दशन गरी नेपाललाई विजयी बनाउन भुमिका निर्वाह गरेका कुशल भुर्तेल, देव खनाल र मौसम ढकाललाई जनही ५० हजार नगद सहित सम्मान गरेको थियो ।
अफगानिस्तानसँग रोमाञ्चक जित निकाल्ने क्रममा नेपालले १४६ रनको लक्ष्य ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गरेको थियो । नेपालको जितमा कप्तान देव खनालले अर्धशतक प्रहार गरेका थिए । सातौं विकेटको रुपमा आउट हुनुअघि उनले ८९ बलमा ७ चौका प्रहार गर्दै ५८ रन जोडेका थिए ।
प्रतिकृया दिनुहोस्