स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्नेमा प्रचण्डको जोड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्नेमा जोड दिएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औं सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्याउनुपर्नेमा जोड दिएका हुन् ।
स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवाप्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने मैले विश्वास लिएको छु ।”
प्रतिष्ठानले आम जनसमुदायलाई पुर्याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लैजाने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरेका छन ।
अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधिहरू थप गरी आफ्ना सेवालाई नागरिकको आवश्यकताअनुसार विस्तार गर्दै लगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट संक्रमितहरूको परीक्षण र उपचारमा उल्लेख्य योगदान पुर्याएको स्मरण गरेका छन् ।
प्रतिकृया दिनुहोस्