नेपालले बिआरआईबाट प्रशस्त लाभ लिन सक्छ – एमाले महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिब (बिआरआई) परियोजना अन्तर्गत नेपालले प्रशस्तै लाभ लिन सक्ने बताएका छन् । उनले परियोजनाहरू छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने समेत बताएका छन् ।
आज (आइतबार) काठमाडौँमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली कम्युनिस्ट पार्टीहरूबिचको छलफलका क्रममा उनले बिआरआईका सन्दर्भमा नेपालले गरेको सहमति अनुसार परियोजना पहिचान गर्ने कुरामा आफूहरू पछि परेको बताए ।
उनले परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउँदै नेपाल र चीनका बिचमा उच्चस्तरमा भएका भ्रमणले दुई पक्षीय सम्बन्धलाई बलियो बनाएको जिकिर गरे । महासचिव पोखरेलले विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना रहेको रहेको जिकिर गरे ।
बिआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै ठुला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षीय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने उनले बताए । उनले कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाकाहरु नियमित सुचारु गर्न पनि आग्रह गरे ।
प्रतिकृया दिनुहोस्