पोखराको सूर्यदर्शन सहकारीका अध्यक्षसहित ३ जनाविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी
काठमाडौँ । पोखरा महानगरपालिका–४ को सूर्यदर्शन बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनाविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । इन्टरपोललाई नेपाल प्रहरीले नोटिस जारी गर्न अनुरोध गरेको थियो । सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई र जिबीका दाजु भूपेन्द्र राईविरुद्ध नोटिस जारी भएको हो ।
जिबी राई ग्यालेक्सी टेलिभिजनका समेत सञ्चालक हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि ग्यालेक्सी टेलिभिजनमा उनका साझेदार रहेका थिए । सूर्यदर्शन सहकारीको सञ्चालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना एवं ठगी गरेको अभियोग छ ।
कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले सूर्यदर्शन सहकारीका फरार अभियुक्तहरुविरुद्ध इन्टरपोलले हालै नोटिस जारी गरेको जानकारी दिए ।
कास्की प्रहरीले गएको साउन २२ गते सहकारी ठगी सम्बन्धी कसुरमा १९ जनाविरुद्ध मुद्दा दर्ता दायर गरेको थियो । तीमध्ये ४ जना पक्राउ परेका छन् भने बाँकी १५ जना फरार रहेका छन् । सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको अभियोग छ ।
प्रतिकृया दिनुहोस्