संघीय संसद्को हिउँदे अधिवेशन सोमबार देखि
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।
सभामुखबाट विधेयकबारे कानुनी, न्याय तथा संसदीय मामिला सम्बन्धी मन्त्रीसँग परामर्श भइसकेको र नियमितरूपमा गर्नुपर्ने सबै कामसमेत पूरा भएको उनले बताए । यो पटकदेखि अधिवेशनलाई कानून निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिकरूपमा क्यालेण्डर बनाएर जान संसद्का दुवै सदनमा तयारी भएको छ ।
विधेयक अधिवेशनका रूपमा रहने यो अधिवेशनका लागि हाल संघीय संसदमा २४ विधेयक छन् । त्यसमध्ये १६ विषयगत समितिमा छन् । हाल १५ विधेयकमाथि दफावार छलफल भइरहेको छ भने एउटा छलफल पूरा भई प्रतिवेदन निर्माणको चरणमा छ । संघीय संसदका दुवै सदन यही माघ २२ गते (सोमबार) अपराह्न ४ बजे बोलाइएको छ ।
प्रतिकृया दिनुहोस्