कृषि उत्पादन वृद्धिका लागि पालिकाले निरन्तर प्रयास गरिरहेको छ

कृषि उत्पादन वृद्धिका लागि पालिकाले निरन्तर प्रयास गरिरहेको छ

संघीय प्रणाली अनुसार मुलुकमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारहरु सञ्चालनमा रहेका छन् । जसमध्ये नजिकको सरकारको रुपमा सञ्चालन भईरहेको स्थानीय तहबाट जनताले सिंहदरबारको अनुभूत गरिरहेका छन् । स्थानीय तहसँग नागरिकको आशा/अपेक्षा बढ्ने क्रम बढिरहेको छ । यद्यपि अस्पष्ट ऐन कानून र बजेटको सिमितताका कारण स्थानीय तहले जनअपेक्षा अनुसार काम गर्न सकेका छैनन् । पछिल्लो समय स्थानीय तहले मानिसको आधारभूत आवश्यकताको विषयदेखि विभिन्न क्षेत्रलाई प्राथमिकता दिइरहेको छ । यसमध्ये कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाले पनि जनमुखी कार्यमा केन्द्रित भएर अगाडि बढिरहेको छ । २०७९ बैशाखमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका अध्यक्ष मगरले जनताले प्रत्यक्ष महशुस गर्ने गरी काम अघि बढाइरहेका छन् । उनै थापासँग गाउँपालिकाको वर्तमान अवस्था, पूर्वाधारको विकास, पालिकाको आर्थिक समृद्धिका लागि चालिएका कदम र भावी योजनाहरुमा केन्द्रीत भएर गरिएको संक्षिप्त कुराकानी :

चालु आर्थिक बर्षका कार्यक्रम कार्यान्वयनको सुरुवात कसरी गर्नुभएको छ ?

चालु आर्थिक बर्ष २०८०/०८१ को बजेट कार्यान्वयनको चरणमा हामी अघि बढिरहेका छौँ । नितान्त हामी यो आर्थिक बर्षमा पुरै सामाजिक विकास तर्फ बढि जोड दिएका छौँ । पूर्ण सरसफाई उन्मुख गाउँपालिकाको लागि तयारी गरिरहेका छौँ । बालविवाहमा रोक, पोषणमा बृद्धि, बाल श्रमको अन्त्य, विद्यालय भर्ना, स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई शौचालय जस्ता कुराहरु एउटा प्याकेजमा हामी समग्र गाउँपालिकालाई पूर्ण सरसफाई उन्मुख सचेत नागरिक परिचयपत्र कार्ड लागु गरेर हामी अगाडि बढेका छौँ ।

त्यसैगरी गाउँपालिकाका क्रमागत योजनाहरु पनि एउटा प्रक्रियामा अगाडी बढिरहेको छ । उपभोक्ता समिति गठन, केन्द्र सरकारबाट जाने योजनाका कुराहरुमा पनि हामी अघि बढिरहेका छौँ । लगभग ५० प्रतिशत भन्दा बढि योजनाहरु सम्झौता भएर अगाडी बढ्ने क्रममा छन् र समग्रमा विजयनगरको यो आर्थिक बर्षका योजनाहरु शाखागत विभिन्न बिषयगत र विभिन्न पूर्वाधार विषयहरुमा निरन्तर अगाडी बढिरहेका छौँ ।

अघिल्ला बर्षहरुको तुलनामा यो आर्थिक बर्षमा के कस्तो सहजता देख्नुभएको छ ?
अघिल्लो बर्ष र यो बर्षको तुलना गर्दै गर्दा अघिल्लो बर्ष भन्दा यो बर्ष पक्कै पनि अलि सहज नै छ । हिजोको सिकाई आज प्रयोगमा आउँदै गर्दा विगतका अप्ठ्याराहरुलाई सहज ढंगबाट कानूनका कुराहरु उपभोक्ताहरु परिचालन गर्ने कुराहरुमा हिजो भन्दा केही सहज छ ।

गाउँपालिकामा शुसासन कायम गर्नको लागि के कस्ता अभ्यासहरुको सुरुवात गर्नुभएको छ ?

गाउँपालिकाभित्र नितान्त रुपमा जनताप्रति उत्तरदायी हुने कुराहरु जवाफदेहिता हुने कुराहरु जनताका हक अधिकारका कुराहरुमा हामी एकदमै सचेत नै छौँ । यसमा नितान्त बडापत्रहरु राख्ने, छिटोछरितो सेवा दिने कुराहरु गाउँपालिकाले गुनासो सुन्ने निकाय स्थापना गरेका छौँ । सार्वजनिक सुनुवाई गर्ने कुराहरु सबै गाउँपालिकाका निर्णयहरुलाई वेवसाईटमा राख्नेकुराहरु यसरी हामी शुसासन तर्फ केन्द्रीत भएका छौँ ।

तपाई निर्वाचित भएर आइसकेपछि रोजगारीको अवस्थामा केही सुधार भएको महशुस गर्नुभएको छ ?

जनताका मागहरुलाई धेरै सम्बोधन गर्न सकिरहेको अवस्था छैन । हाम्रो सिमित स्रोत साधनका कारणले पनि सकिरहेको अवस्था छैन् । हामी साना कुराहरु परम्परागत देखि चलिआएका व्यवसायका कुराहरु कृषि उत्पादनका कुराहरु बाख्रा, भैँसी, कुखुरा पालनका बिषयहरु यी विषयहरुलाई अलिकति व्यवस्थित ढंगबाट गराउने कुराहरुमा, स्थानीयलाई व्यवसायीकरण गराउने कुराहरुमा केही हदसम्म हामीले प्रयास गरिरहेका छौँ । त्यसैगरी विभिन्न तालिम दिईरहेको छौँ । तर ठूलो परिणाममा रोजगार सृर्जना गर्नेगरी गाउँपालिकाको स्रोत साधन पर्याप्त नभएकाले हामीले सोँचे जस्तो रोजगारी श्रृर्जना गर्ने कुराहरुमा काम गर्न सकिरहेको अवस्था छैन ।

चाहे अनुसारको रोजगारी सिर्जना हुन नसक्नुको कारण के हो ?

एउटा कुरा जनताको अपेक्षा पनि अलिकति धेरै नै ठूलो छ । अर्को गाउँपालिकाको स्रोत साधन सिमित छ । त्यही स्रोत साधनबाट धेरै क्षेत्रहरु हेर्नुपर्ने भएकाले पनि यर्थात कानूनी कुराहरु भन्दा पनि प्रदेश र केन्द्र सरकारले राष्ट्रियस्तरमा एउटा नीति बनाएर, एक पालिका, एक औद्योगिक क्षेत्रको स्थापना गर्ने, यहाँ उत्पादन हुने परम्परागत कुराहरुलाई व्यवसायी गर्ने, बजारीकरण गर्ने संरचनाहरु बनाउने बजारको स्थापना गर्ने कुराहरु यी संरचनाहरु केन्द्र सरकारले नै एउटा पोलिसी बनाएर अगाडि बढियो भने व्यापक रुपमा जनताका मागहरु सम्बोधन गर्न सकिन्छ । नत्र गाउँपालिकाले एउटा सिमित क्षेत्रभित्र यहाँका उत्पादन संगसंगै बजारीकरणका कुराहरुमा पालिकाको स्रोत साधनले र पालिकाका सबै कुराहरुले पनि नपुग्ने भएका कारणले यो सम्बोधन गर्न नसकिएको हो ।

यद्यपि संघ र प्रदेश सरकारले छुट्टै पोलिसी बनाएर रोजगारी सृर्जना गर्ने कुराहरु र कार्यक्रमहरु कार्यान्वयन गर्यो भने अलिकति सम्बोधन होला । नत्र गाउँपालिकाको स्रोत साधन कम छ थोरै स्रोत साधनमा धेरै क्षेत्रहरु सम्बोधन गर्नुपर्ने भएकाले रोजगारी सिर्जनाको क्षेत्रमा हामीमाझ समस्या देखिएका छन् ।

गाउँपालिकाको अहिलेको मुख्य प्रथामिकता के हो ?

हामी अहिले सामाजिक विकास तर्फ केन्द्रीत छौँ । पूर्वाधारको विकास, सडक, भवन, संगसंगै हामी अलिकति सामाजिक विकास तर्फ यहाँका संस्कृति, परम्पराहरुलाई संरक्षण गर्दै शिक्षामा अनिवार्यता, स्वास्थ्यका कुराहरु खानेपानीका, सरसफाईका विषयमा अघि बढिरहेका छौँ । साथसाथै पूर्वाधारका हिसाबले सडकसञ्जाल, विद्यालयका भवनहरु र सामुदायीक भवन, पुल, कल्र्भटला एउटा प्रथामिकता दिएका छौँ । सिंचाईं र हरियाली वातावरणलाई पनि हामीले प्रथामिकता दिएका छौँ ।

कृषि उत्पादन लक्षित के कस्ता कार्यक्रमहरु गर्नुभएको छ ?

विजयनगर गाउँपालिका कृषिमा एकदमै सम्भावना बोकेको क्षेत्र हो । यहाँका अधिकांश जनताहरु कृषिमा आधारित छन् । कृषि उत्पादन वृद्धि गर्ने कुरामा हाम्रो निरन्तर प्रयास छ । यो प्रयासमा हामी मुख्यगरी सिंचाईँको अभावका कारणले त्यसको लागि हामीले ताल, पोखरी निर्माण गर्ने, नहर खन्ने, पुराना ताल पोखरीलाई संरक्षण गर्ने र पानी संञ्चित गरी सबै भागमा पानी पु¥याउने गरी हामी अघि बढिरहेका छौँ । विभिन्न कृषि समूह मार्फत तालिमहरु उपलब्ध गराउने, प्रविधि उपलब्ध गराउने र खात मलको व्यवस्थापन गर्ने कुरामा सबैको पहुँच गर्ने कुरामा हामी अघि छौँ ।

गाउँपालिकाको आर्थिक सुधारको लागि के कस्ता कामहरु भएका छन् ?

गाउँपालिकाभित्र रहेका स्रोत साधनको पहिचान गर्ने, व्यवसायीलाई गाउँपालिकासम्म सुचिकृत गर्ने, दर्ता गराउने, गाउँपालिका भित्र रहेका खोलानालाहरुलाई संरक्षण गर्ने र मापदण्ड अनुसार निकासी गर्ने कुरामा हाम्रो योजना रहेको छ । गाउँपालिकाभित्र रहेका ताल पोखरीहरुलाई ठेक्का प्रक्रियाबाट उपलब्ध गराउने राजस्वसंग जोड्ने प्रयास गरेका छौँ ।

गाउँपालिकाको आगामी योजना के छ ?

हाम्रो गाउँपालिका भनेको विभिन्न समुदायका मानिसहरुको बसोबास रहेको क्षेत्र हो । बसाई र भूगोलका हिसाबले खोलानाला, जंगलसंग जोडिएको छ । सिमानाका हिसाबले बोर्डरसंग जोडिएको गाउँपालिका भएर पनि आफैमा यो पछाडि परेको स्थानीय तह हो । यो पालिका मानव विकास सूचकांकमा पछाडी परेको छ । यसलाई समृद्ध बनाउनको लागि अधिकतम् स्रोत साधनलाई उपयोग गर्ने सोचका साथ अगाडी बढिरहेका छौँ । गाउँपालिका आगामी कार्यकालसम्म पूर्ण सरसफाई गाउँपालिका घोषणा गर्ने, शिक्षामा विद्यालय भर्नाका बिषयहरु, वालविवाह अन्त्यका कुराहरु, बालश्रम विरुद्ध लगायत सबै कुराहरुमा एउटा तहसम्म हामीले पुरा गर्ने गरी योजना बनाएर अगाडी बढिरहेका छौँ । यी कार्यहरुमा गाउँपालिका सबैको सहयोगको अपेक्षा गरेका छौँ । सबैको समन्वयमा गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने सोचका साथ योजना बनाएर अघि बढिरहेका छौँ ।

गोपाल बहादुर थापा मगर, अध्यक्ष, विजयनगर गाउँपालिका, कपिलवस्तु

लोकप्रिय