भेटिभर खेतीको प्रवर्द्धन : दिगो विकासको सम्वर्द्धन

काठमाडौँ-नेपाल आर्थिक समृद्घिका मार्गमा अघि बढिरहँदा विकास निर्माणमा सधैँ आर्थिक तथा पर्यावरणीय समस्या झेल्दै आएको छ। बाढी, पहिरो, डढेलो, भूक्षयलगायत प्राकृतिक प्रकोप र त्यसबाट हुने मानवीय तथा प्राकृतिक क्षति प्रत्येक वर्ष नेपाल तथा नेपालीले झेल्दै र भोग्दै आएका समस्या हुन्।
देशमा उपलब्ध स्रोतसाधनको उपयोगको अभाव तथा अत्यधिक आयात तथा निर्वाहमुखी अर्थतन्त्रले गर्दा नेपालमा समुचित विकास हुन सकेको छैन। साथै, आधुनिक ज्ञान र प्रविधिका अभावमा सामान्य विकास निर्माणका लागि पनि ठूलो खर्च र समस्या झेल्दै आउनुपरेको छ। आधुनिक प्रविधि मात्र होइन, सामान्य पर्यावरणीय ज्ञानका अभावमा पनि राष्ट्रले ठूलो क्षति बेहोर्नु परेको छ। छिमेकी राष्ट्र भारत तथा चीनले अग्रगामी विकासमा छलाङ मार्दै गर्दा नेपालले भने भएका स्रोतसाधनको पनि उपयोग गर्न सकेको छैन। यस्ता समस्याको जैविक समाधानतर्फको पहिलो तथा प्रभावकारी कदमका रूपमा भेटिभर परियोजना विश्वमा परीक्षण भई बहुपयोगी साबित भएको जैविक प्रविधि हो।
के हो त भेटिभर?
भेटिभर क्रिसोपोगान प्रजातिको एक बहुपयोगी वनस्पति हो, जसलाई नेपाली भाषामा खसखसे भनिन्छ। वैज्ञानिक नाम क्रिसोपोगन जिजानियोइड्स रहेको यसले किसानको साथीका रूपमा नाम कमाएको छ र विश्वका धेरै देशमा कृषि सबलीकरण तथा गरिबी निवारणका क्षेत्रमा वरदान साबित भएको छ। समुद्री सतहदेखि एक हजार आठ सय मिटरका उचाइसम्म खेती गर्न सकिने यस वनस्पतिको मुख्य विशेषता जरामा छ जुन निकै बाक्लो गाँज भई जमिनमा तीन मिटरभन्दा बढी गहिरोसम्म जान्छ। यो विषम किसिमका माटामा हुर्कने तथा सप्रने घेरै कम बिरुवामध्येको एक हो।
पिएच भ्यालु अर्थात् अम्लीय तत्त्व तीनदेखि ११ रहेको माटामा पनि यस बिरुवाले सजिलैसँग हुर्केर अम्लीय तत्वलाई सन्तुलित पार्ने काम गर्छ। अति नै बहुउपयोगी बालीका रूपमा विश्वमा परीक्षणबाट प्रमाणित यसको खेतीबाट छदेखि आठ महिनाभित्रै धेरै आर्थिक लाभ लिन सकिन्छ। यसको जराबाट उत्पादन हुने तेलको दुई सय ७५ डलर प्रतिलिटरको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने गरेको छ। यस्तो उच्च मूल्य हुँदासमेत अन्तर्राष्ट्रिय बजारमा यस तेलको धेरै माग छ। देशभर नदी तथा बाढीपहिराबाट क्षतिग्रस्त करिब १० लाख हेक्टर बगर जमिनलाई भेटिभरखेतीको विस्तारमार्फत हामी पूर्णरूपमा उपयोगमा ल्याउन सक्छौँ। उक्त जमिनका उपयोगले हाम्रो खाद्य व्यापार घाटा निर्मूल पार्न सक्ने तथ्यमा कुनै विवाद छैन।
भेटिभरको विशिष्ट गुण उपयोगिता तथा क्षमतालाई मध्यनजर गर्दै विश्व बैंकका पहलमा अमेरिकाको भर्जिनिया राज्यमा सन् १९८९ मा द भेटिभरनेटवर्क नामक गैरनाफामूलक संस्था स्थापना भएको छ। यस संस्थाले पछिल्लो समय भूमि स्थिरीकरण, प्रदूषित स्रोतहरूको फाइटा–उपचार, बायो–इन्जिनियरिङ, पूर्वाधार संरक्षण र स्थिरीकरण तथा प्रकोपको जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दैआएको छ।
यस वनस्पतिमा बन्जर, सुख्खा तथा रासायनिक रूपमा क्षतिग्रस्त भूमि पुनःस्थापना गर्ने क्षमता छ। नेपालका सन्दर्भमा चुरे संरक्षण, नदी कटान तथा तटको संरक्षण, पहिरो र भूक्षय रोकथामलगायत कार्यमा यसको प्रभावकारी उपयोग गर्न सकिन्छ। हाइटीको अर्थतन्त्रको करिब ७४ प्रतिशत हिस्सा यसको खेतीमार्फत उत्पादन हुने भेटिभर तेलले ओगटेको छ। यसलाई औषधि तथा सुगन्धित तेलका रूपमा पनि प्रयोग गर्न सकिन्छ। यस वनस्पतिले कार्बन सङ्कलन गरी वातावरण प्रदूषित हुनबाट पनि रोक्छ एवं दिगो कृषि तथा बायो–इन्जिनियरिङको साधनका रूपमा पनि प्रयोग गर्न सकिन्छ।
विप्रेषणमा आधारित अर्थतन्त्रलाई कृषितर्फ ल्याउन तथा देशमै रोजगारी सिर्जना गर्ने सन्दर्भमा भेटिभरउपयोगी र प्रभावकारी मार्ग हो। सधैँ परिवर्तन र क्रान्तिको कुरा हुने देश नेपालमा कृषि क्रान्तिको आधार भेटिभरहुन सक्छ। न त बाँदरले दुःख दिने, न रोग प्रकोप–किरा लाग्ने, न नदीले बगाउने, न डढेलाले मास्ने, न त मलखाद र सिंचाइको आवश्यता पर्ने। रोपेपछि एकै पटक प्रयोग तथा बिक्रीका लागि तयार हुने, नेपालको भूगोल, अवस्था र व्यवस्थानुकूलको उपयुक्त खेती भेटिभर हो।
भेटिभरका फाइदा
गरिबी उन्मूलनः गरिबी निवारणको प्रभावकारी समाधान भनेको रोजगारीको अवसरको सिर्जना हो। भेटिभरमार्फत प्रशस्त रोजगारीको सिर्जना गर्दै किसानका आयआर्जनमा वृद्धि गरी नेपालको सबैभन्दा ठूलो समस्याका रूपमा रहेको गरिबी उन्मूलनका मार्गमा अगाडि बढ्न सकिन्छ। यसका जराबाट २७५ अमेरिकी डलर प्रतिलिटर अर्थात लगभग रु ३६ हजारमा बिक्री हुने बहुमूल्य भेटिभर तेल उत्पादन हुन्छ। यसको १० टन तेलको एक ट्रक वा कन्टेनर तेल निर्यातमा २७.५ लाख अमेरिकी डलर नेपाल सरकारलाई राजश्व प्राप्त हुन्छ। हालको बजार मूल्यसँग तुलना गर्दा नौ महिनामा किसानले अन्य कृषि कार्यभन्दा भेटिभरबाट बढी आम्दानी गर्न सक्छन्।
गरिबी उन्मूलनको मुख्य पाटो खाद्य सुरक्षा हो। नेपालमा विभिन्न कारणले १० लाख हेक्टर जग्गा बगर तथा बाँझो रूपमा छ। ती जमिनमा भेटिभर खेती मात्र गर्न सकिएमा उक्त जमिन पुनः अन्य बालीका लागि उपयोग गर्न योग्य बनाउन सकिन्छ। साथै भेटिभरसँगै दलहनलगायत अन्य बाली पनि साथसाथै लगाउन सकिन्छ जसबाट नेपालको उत्पादनबाट नपुगेर आयात गरिँदै आएको लगभग ४० लाख टन खाद्य अभावका अवस्थाबाट बाहिर निक्लँदै निर्यात गर्न नेपाल सक्षम हुन सक्छ।
भेटिभरले कार्बन उत्सर्जनमा विभिन्न किसिमले कमी ल्याउने हुँदा कार्बन नेगेटिभ भई दक्षिण एसियामा भुटानपछिको दोस्रो कार्बन नेगेटिभ मुलुक हुन सक्ने मार्ग प्रस्तुत हुनेमा कुनै समस्या देखिँदैन। खेर गइरहेको १० लाख हेक्टर जग्गामा भेटिभर रोप्दा खाद्य सुरक्षा, रोजगारीको सिर्जना, ऊर्जाको उत्पादन, वातावरणको सुरक्षा र जैविक सुरक्षालगायत समग्र सामाजिक स्थिरताका पाँच वटै अवयव पूरा हुनु आफैँमा भेटिभर बिरुवाको विशेषताको सूचक हो जसको उत्पादन लागत एकदमै न्यून छ।
कृषिमा फाइदाः भेटिभरले नदी तथा कुलाबाट खेतबारीमा हुने कटान जोगाउँछ। यो एक यस्तो प्रकारको सहयोगी झार हो, जसका सहयोगमा बाढीको बालुवा र ढुङ्गाले पुरेर बगर बनेका खेतीयोग्य जग्गालाई पुनः पोषणयुक्त र उर्वर भूमिमा परिणत गर्न सकिन्छ। भेटिभर खेतीबाट खेतीबालीमा किरा नियन्त्रण र माटाको उर्वरतामा वृद्धि गर्न सकिन्छ। नेपालमा प्रतिव्यक्ति सिञ्चित जग्गाको स्वामित्व ०.०७ हेक्टर मात्रै छ अर्थात् ७० देखि ८० प्रतिशत साना किसानका स्वामित्वमा प्रतिपरिवार करिब १० कठ्ठाभन्दा कम जमिन मात्र छ। यो सानो क्षेत्रफलले व्यावसायिक र आधुनिक प्रणालीबाट कृषि कर्म गर्न सम्भव छैन, जसको कारण नेपालको कृषि निर्वाहमुखीतर्फ मात्रै सीमित छ।
जैविक भूसंरक्षणः नेपालको भौगोलिक बनावटका कारण मनसुनसँगै पहिरो जाने र पहिरोसँगै कृषि अनुकूल मलिलो माटो बगेर जाँदा अत्यधिक भूक्षयको अवस्था छ। यसलाई नियन्त्रण गर्ने एक मात्र जैविक विकल्प भेटिभर हो। यस वनस्पतिको जरा तीनदेखि पाँच मिटरसम्म जमिनमुनि बढ्ने हुँदा माटालाई बाँधेर राखी भूक्षय हुन दिँदैन। बाँझो, बन्जर, विभिन्न औद्योगिक तथा रासायनिक फोहोर व्यवस्थापनका कारणले प्रदूषित भूमि पुनःस्थापनाको प्रभावकारी जैविक विकल्प भेटिभर हो।
जैविक तटबन्धः भेटिभरले जैविक तटबन्धका रूपमा प्रभावकारी कार्य गर्छ। छिटो बढ्ने र लामो जरा सञ्जाल हुने हुँदा यसले बिरुवा रोपेको छोटो समयमा नै प्रभावकारी काम गर्छ। विश्वमा समेत यसको खेतीले पानीको स्रोत बढ्ने एवं हरियाली व्यवस्थापन तथा कम लागतमा मजबुत तटबन्धको कार्य गरेको छ। भेटिभरको तटबन्धले बाढीपहिराका कारण बगरमा परिणत हुँदै गएका खेतीयोग्य जमिनलाई संरक्षण गरी पुनः कृषि भूमिका रूपमा पुनःस्थापना गर्छ।
भिरालोपनको स्थिरीकरणः भेटिभर रोपेर कुनै पनि भिरालो जमिनलाई बाढीपहिरो तथा भूक्षयबाट जोगाइराख्न सकिन्छ। यसबाट ग्रामीण तथा कृषि सडकमा हुने पहिरो न्यूनीकरण गर्न सकिन्छ। राजमार्ग, रेलमार्ग, पुल, बाँध तथा पोखरी, विभिन्न निर्माणस्थल, नहर, नाली आदिलाई भेटिभरको प्रयोगमार्फत भूक्षयबाट बचाइराख्न सकिन्छ। हाल विकास निर्माणमा प्रयोग हुने टेवा पर्खाल बनाउन प्रतिघनमिटर रु १०–१२ हजारको लागत लाग्छ। यसका विकल्पमा भेटिभर प्रयोग गर्ने हो भने रु पाँच सय वा एक हजार प्रतिघमिका लागतमा टेवा पर्खालभन्दा बलियो र टिकाउ कार्य गर्न सकिन्छ।
फाइटोरिमेडियसनः खेर गएको तथा क्षतिग्रस्त जमिनमा भेटिभर रोपेर फाइटोरिमेडिएसन प्रक्रियाबाट प्रदूषित जमिन तथा पानीको उपचार गरी शुद्धीकरण गर्न सकिन्छ। यसबाट औद्योगिक फोहोर, घरेलु फोहोर, ल्यान्डफिल साइटको शुद्धीकरणका साथै पानीको स्थिरीकरण पनि गर्न सकिन्छ। काठमाडौँमा फोहर व्यवस्थापन सधैँ एक समस्याका रूपमा रहेको छ। ल्यान्डफिल साइटमा हुने प्रदूषण, त्यहाँबाट उत्पन्न हुने लिचडले स्थानीय जलस्रोतमा निकै असर गरेको छ। लिचडको जैविक उपचार भेटिभरबाटै सम्भव छ। यस वनस्पतिले हाम्रा वरपर विभिन्न औद्योगिक, रासायनिक, मानवीय क्रियाकलापका कारणले उत्पन्न हुने प्रकोपको न्यूनीकरणका क्षेत्रमा विशेष कार्य गर्छ।
बाढीपहिरो रोकथामः हुर्किएको छ महिनामा नै यसको जरा फैलिएर पानीको बहावसँगै बग्न लागेको माटो निकै कडाइका साथ एकापसमा जोडेर र समातेर राख्ने गर्छ। नेपालमा बाढीपहिराको जोखिम उच्च भएकाले यस घाँसको प्रयोगको ठूलो आवश्यकता छ। बाटामा पहिरो गएर हुने भूक्षय रोक्न यसले जैविक पर्खालको काम गर्छ, जुन हामीले प्रयोग गर्ने कंक्रिट पर्खालभन्दा निकै किफायती, बलियो र सस्तो छ।
नदी किनार संरक्षणः नदी तटीय क्षेत्रमा हुने बाढीको बहाव, कटान र ज्वारभाटाबाट पनि भेटिभरको बिरुवाले जोगाउनका साथै पानीको उच्च बहावलाई पूर्णरूपमा सुस्त बनाइदिन्छ। अफ्रिका, अमेरिका, एसिया महादेश, क्यारेबियन, प्रशान्त तटका विभिन्न मुलुकमा पछिल्लो १० वर्षमा गरिएको अनुसन्धानले बाढीको गति घटाउन र भूक्षय रोक्न भेटिभरको प्रयोग निकै प्रभावकारी भएको देखाएको छ। मनसुनका समयमा अत्यधिक हुने नदी कटान नियन्त्रणको यो एक प्रभावकारी साधन बन्न सक्छ। यसबाहेक नदीको धार परिवर्तनको रोकथाममा पनि यसले जैविक इन्जिनियरिङको काम गर्छ।
बन्जर भूमि पुनःस्थापनाः खोला बगर, नदी उकास, फोहोर व्यवस्थापन क्षेत्रलगायत प्रयोगविहीन जग्गामा भेटिभरको रोपण अपरिहार्य छ। यसको खेती गरेपछि उक्त जग्गा पुनःअन्य खेतीका लागि उर्वर भूमिमा परिणत हुन्छ। नेपालमा खेतीयोग्य ठूलो जग्गा बर्सेनि बाढीका कारणले हुने नदी कटान, पहिरो, भूस्खलन र बगरमा परिणत भएका छन्। यस्ता जग्गालाई भेटिभरका सहयोगमा पुनः कृषि भूमिमा रूपान्तरण गर्न सकिन्छ। प्रयोगविहीन बाँझो, पर्ती, दर्ता छुट, ऐलानी, खोला उकास तथा बाढीपहिराका कारण बगरमा परिणत भएका जग्गालाई वैज्ञानिक कृषि प्रणालीका सहयोगमा पुनः उर्वर कृषियोग्य भूमिमा परिणत गर्न सकिन्छ।
जलाधार संरक्षणः यसको जराले जमिनमुनिको पानीलाई सतहतर्फ ल्याएर ओसिलो बनाउने हुँदा मुहान सुक्न दिँदैन। जमिनमा रहेका दूषित तत्त्व सोस्ने हुँदा पानी शुद्घीकरण गरी मुहान संरक्षण गर्न पनि मद्दत गर्छ। वाग्मती, विष्णुमतीजस्ता नदी शुद्धीकरणका सन्दर्भमा भेटिभर प्रभावकारी जैविक अस्त्रका रूपमा अग्रणी रहन सक्छ।
हरित इन्धनको स्रोतः भेटिभर हरित इन्धनको एक महत्त्वपूर्ण स्रोत हो। हाल नेपालले वार्षिक झन्डै रु तीन खर्बको जीवाश्म इन्धन आयात गरिरहेको छ। भेटिभरलाई हरित इन्धन उत्पादनमा कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ। यसबाट बायोमास, बायोग्यास र बायो सिएमजी उत्पादन गर्न सकिन्छ।
बायो सिएमजीका प्रयोगबाट सवारी साधनमा प्रयोग हुने जीवाश्म इन्धनको विस्थापनका साथै विद्युत् उत्पादन पनि गर्न सकिने हुँदा जीवाश्म इन्धनको आयात घटाउँदै इन्धन खरिदमा खर्च हुने विदेशी मुद्रा बचत भई व्यापार घाटासमेत कम गर्न सकिन्छ। साथै जीवाश्म इन्धनले कोइलाभन्दा आधा कार्बन उत्सर्जन गर्ने हुँदा नेपाल कार्बन नेगेटिभ भई कार्बन व्यापारबाट समेत किसानले अर्थोपार्जन गर्न सक्छन्।
यी यावत् इन्धन उत्पादन गरिसकेपछि निस्कने बाइप्रोडक्ट जैविक मलका रूपमा हामीले प्रयोग तथा निर्यातसमेत गर्न सकिन्छ। राज्यले वार्षिक रूपमा अबौँ रुपैयाँ रासायनिक मलखाद खरिदमा अनुदानका नाममा खर्च गरिरहेको अवस्थामा यसतर्फ ध्यान दिने हो भने कृषिका धेरै समस्या एकमुष्ट समाधान हुन सक्दछ। ग्रामीण क्षेत्रमा दाउरा मुख्य ऊर्जाका रूपमा प्रयोग भइरहेका अवस्थामा भेटिभरबाट उत्पादन हुने ब्रिकेटले रुख कटान नियन्त्रण गर्न भूमिका खेल्छ।
दिगो विकासका लक्ष्य पूरा गर्ने आधारः भेटिभरको समुचित प्रयोगमार्फत दिगो विकासको अवधारणान्तर्गतका १७ लक्ष्य पूरा गर्नेतर्फ अग्रसर हुन सक्छ। गरिबी निर्मूलीकरण, भोकमरी उन्मूलन, राम्रो स्वास्थ्य र जनकल्याण, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ पानी र सरसफाइ, किफायती र स्वच्छ ऊर्जा, सभ्य काम र आर्थिक वृद्धि, उद्योग, नवप्रवत्र्तन र पूर्वाधार, समानता, दिगो सहर र समुदाय, जिम्मेवार उपभोग र उत्पादन, जलवायु कार्य, पानीमुनिको जीवन, भूमिमा जीवन, शान्ति, न्याय र बलियो संस्था तथा लक्ष्यहरूका लागि साझेदारी सन्दर्भमा भेटिभरले कार्य गर्न सक्छ। यसको विकास र विस्तारबाटै दिगो विकासका लक्ष्य पूरा गर्न सकिन्छ।
पछिल्लो क्षति
राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षणको पछिल्लो तथ्याङ्कअनुसार जलवायु परिवर्तनका कारण नेपालले पछिल्लो पाँच वर्षमा रु चार खर्बभन्दा बढी नोक्सानी बेहोरेको छ। तथ्याङ्कानुसार वार्षिक रु ८३ अर्ब बराबरको क्षति हुने गरेको छ। जलवायुजन्य विपद्ले भौतिक पूर्वाधार, खाद्य सुरक्षा, रोग तथा कीटाणुलगायत विभिन्न माध्यमबाट क्षति पुर्याएको पाइएको छ। तसर्थ राज्य विकास निर्माणलगायत क्षेत्रमा बायो–इन्जिनियरिङतर्फ अगाडि बढ्न आवश्यक देखिन्छ। समयमै भेटिभरसहितका जैविक समाधानको उपाय अपनाएमा यस्ता क्षतिमा महसुस हुने गरी न्यूनीकरण गर्न सकिन्छ।
हालका दिनमा नेपालको कृषि क्षेत्रमा धेरै समस्या भई किसानहरू प्रताडित हुनुपरेका अवस्थामा यसको खेती गरेमा बाँदरलगायत पशुपक्षीबाट हुने क्षति, रोगकिराबाट हुने क्षति आदिबाट बचाउन सकिन्छ। खडेरी तथा डढेलोबाट हुनसक्ने क्षतिबाट पनि बच्न सकिन्छ। बायो–इन्जिनियरिङमा हाल प्रयोग भइरहेका बिरुवाको जराको क्षमता, सहन गर्न सक्ने तापक्रम, डढेलो आदिबाट पार्न सक्ने असर आदिको अध्ययन नगरी प्रयोग गर्दा खासै उपयोगी हुन सकेका छैनन्।
हाल नेपालको काठमाडौंँ—तराई मधेस द्रुतमार्ग, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत स्थानमा पनि यो प्रविधिको प्रयोग गरिएको छ। यो बहुपयोगी वनस्पतिलाई प्रयोग गरी चीन, भारत, अफ्रिका, ल्याटिन अमेरिकाकी देशहरूले व्यापक फाइदा लिएको अवस्थामा। नेपालमा पनि भेटिभरको उपयोगिता तिनै तहका सरकारहरूले यसको अध्ययन अनुसन्धान गरी प्रवद्र्धनका लागि पहल गर्नु आवश्यक देखिन्छ।
भेटिभर रोपौं, ल्यान्डफिल स्वच्छ बनाऔं
काठमाडौं– पोखराजस्ता देशका ठूला सहरमा फोहोर व्यवस्थापनसँगै ल्यान्डफिल साइटको वातावरण जोगाउने मुख्य चुनौती देखिएको छ। ल्यान्डफिल साइट वरिपरिको मानवीय जीवनको रक्षा र फोहोर व्यवस्थापन गर्न ठोस उपाय पनि पत्ता लागेको छैन। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि पहिलेदेखि नै फोहोर थुपारिएको स्थानको उचित व्यवस्थापन हुन सकेको छैन। त्यसैकारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइए पनि जोखिमपूर्ण मानिएको छ। फोहोरमा आहार खोज्न आउने चराचुरुंगीसँग ठोक्किएर ठूलो भौतिक तथा मानवीय क्षति हुने खतरा देखा परेका छन्।
पोखरा ल्यान्डफिल साइटको बायोइन्जिनियरिङ व्यवस्थापन कसरी गर्न सकिन्छ त ? त्यसका लागि पनि उपाय भने नभएका होइनन्। भेटिभर घाँस रोपेर पोखराको ल्यान्डफिल साइटलाई स्वच्छ एवं सफा बनाउन सकिन्छ। भेटिभरले विमानस्थल नजिकको पहिरो रोक्ने, फोहोरबाट निस्कने ग्याँस र गन्धलाई कम गर्ने, फोहोरबाट उत्पन्न लिचेटलाई प्रशोधन गरेर त्यहाँको जनजीवन स्वस्थ बनाउन सक्छ। काठमाडौंको ल्यान्डफिल साइट –सिसडोलमा पनि भेटिभर रोपेर त्यहाँको जनजीवन र वातावरण जोगाउन सकिन्छ। भेटिभरका अन्य उपयोगिता त छँदैछन्।
किन भेटिभर रोप्ने ?
गिक बहावको उपचार, कृषि-एक्वाकल्चर पानी, ल्यान्डफिल साइट (घरेलु फोहर, दूषित पानी )
ल्यान्डफिलहरू : सन् १९९४ मा अस्ट्रेलियाको क्विन्सल्यान्डमा ल्यान्डफिल लिचेट नियन्त्रणको लागि भेटिभर घाँस प्रयोग गरिएको थियो। त्यसबेलादेखि यो अस्ट्रेलिया, चीन, भारत, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण अफ्रिका, थाइल्यान्ड, अमेरिका र भियतनाममा प्रयोग गरिँदै आएको छ। भारी धातु र नुन भएको लिचेट (दूषित)लाई भेटिभरको अद्वितीय विशेषताहरूले उपचार गर्दछ। भेटिभरको उच्च वाष्प ट्रान्सपिरेसन क्षमताको कारणले ओसिलो खपत हुन्छ र प्रदूषकहरूले बोटको वृद्धिलाई इन्धन गर्न सूक्ष्म र म्याक्रोपोषक तत्त्वको रूपमा काम गर्दछ। भेटिभर प्रयोग गर्ने प्रणालीले ल्यान्डफिलमा वर्षाको घुसपैठलाई पनि कम गर्छ। जसको परिणामस्वरूप कम लिचेट उत्पादन हुन्छ। जमिनको पानी र सतहको पानीका स्रोतहरूलाई थप संरक्षण हुन्छ। भेटिभर यसको जरा संरचना र कठोर वातावरणीय अवस्थाहरूमा सहिष्णुताजस्ता अन्य विशेषताहरूका कारण यो समस्या समाधान गर्नको लागि विशेष रूपमा उपयुक्त छ।
विपद् न्यूनीकरण : यसले पहिरो पुनर्वास र रोकथाम, जलाधार संरक्षण, नदी किनारा र तटीय संरक्षण गर्छ।
अन्य प्रयोगहरू : अत्तर बनाउन प्रयोग हुन्छ। (आधुनिक अत्तर सिर्जनाहरूमा सबैभन्दा बढी प्रयोग यसकै हुन्छ। त्यस्तै गाईबस्तुलाई घाँसका रूपमा प्रयोग गर्न सकिन्छ। थाइल्यान्ड, थ्याच (छाना– जिबाब्बे) मा ब्लक निर्माण गर्ने गरिन्छ। डोमिनिकन रिपब्लिकमा भेटिभरबाट बायोग्याँस प्रयोगमा छ। सिनेगलमा औषधीय प्रयोगमा छ। भारतमा टीबी रोगको औषधिका रूपमा प्रयोग भइरहेको छ।
के के गर्छ ?
जब घाँस परिपक्व हुन्छ, बफरको रूपमा काम गर्छ। जमिनमुनिको पानीको प्रवाहलाई फैलाउँछ र बलौटे माटो छान्ने कार्य गर्छ।
राम्रो हेजले वर्षाको बहावलाई ७० प्रतिशतसम्म रोक्दछ भने बलौटेपन ९० प्रतिशतसम्म रोक्दछ (अन्तर्राष्ट्रिय भेटिभर नेटवर्क, २००८)।
स्थानीय भूगोलमा भएका गरा, कान्ला, फोगटा, साना खोल्सी, धाड परेका ठाउँ र बारीका पाटोको संरक्षण गर्छ।
यसमा लागत कम लाग्छ। सिभिल कार्य सुरक्षाको लागि प्रयोग गर्दा यसको लागत परम्परागत इन्जिनियर गरिएको प्रणाली र डिजाइनको लगभग १/२० लागतमा हुन्छ। भेटिभर जरालाई क्षमतावान् शक्ति भएको ‘जिउँदो माटोको नङ’सँग तुलना गर्छन्।
विश्वमा ठोस र तरल फोहोर अनि माटो सुधार गर्न यसको प्रयोग गरिँदै आएको छ। बाढी, पहिरो, सडक खण्डको विफलता, नदी किनार, सिँचाइ नहर र तटीय कटान, पानी कायम राख्ने संरचनाको अस्थिरता आदि) संरक्षणमा पनि यसको प्रयोग भइरहेको छ। वातावरणीय संरक्षण (जमिन र पानीको प्रदूषण घटाउन, ठोस र उपचार) मा विशेष प्रभावकारी रहेको अध्ययन र अनुसन्धान अनि प्रयोगले देखाएको छ।
ठूलो समस्या लिचेट व्यवस्थापन
सिसडोल र पोखरा ल्यान्डफिल साइटमा लिचेटको ठूलो समस्या छ। सिसडोलमा १८ नगरपालिकाको दिनको सरदर आठ सय फोहोर विर्सजन हुन्छ। (शंकर श्रेष्ठ र साथीहरू, २०२०)। सिसडोलको लिचेट सीधै कोल्पु खोलामा बग्छ। यसले त्यहाँको प्राकृतिक वातावरण तथा मानवजीवन र पशुपन्छीमा प्रत्यक्ष असर गरिरहेको छ। त्यो क्षेत्रमा भेटिभर बिरुवा लगाउँदा पानीलाई शुद्ध पार्ने र घुलनशील फलामलाई पनि शुद्ध पार्न सक्छ। पोखरा वा सिसडोल ल्यान्ड साइटको बायो इन्जिनियरिङबाट व्यवस्थापन गर्दा एकीकृत एप्रोच लगाएर गर्नुपर्छ। गर्मीको उच्च वर्षाको मौसममा एक प्रभावकारी र कम लागत लिचेट डिस्पोजल प्रणाली आवश्यकता देखिन्छ।
भेटिभर घाँसमा धेरै उच्च पानीको प्रयोग र पोषक तत्त्वहरू खपत हुने दरहरू हुन्छन। र यसले भारी धातुहरूको उच्चस्तर र अन्य प्रतिकूल अवस्थाहरूलाई सहनशील क्षमता रहेकाले यो घाँस फोहोर र पानीको लागि सबैभन्दा उपयुक्त छ। बिरुवाहरू लगाउनु अगाडि त्यहाँ रहेको फोहोरमा लवण र पोषक तत्त्वहरू हेरिनु पर्दछ। क्यापिङ र टपसोइलिंग गरी फोहोरको ढिस्कोको सतहमा भेटिभर रोप्न सकिन्छ।
सन २००५ मा ब्रिसबेन, अस्ट्रेलियामा ल्यान्डफिल साइटको ६ हेक्टर क्षेत्रफलमा रोपिएको भेटिभरले उत्कृष्ट नतिजा दियो। भेटिभर बाक्लो गाँज हालेर आयो। लिचेट सोसेर सुक्खा याममा सिँचाइ गर्न नै लिचेट झोलको अभाव हुन पुग्यो। दोस्रो वर्ष आउँदा भेटिभर बाक्लो र तीन मिटरसम्म अग्लो भएको थियो। त्यसैले यो घाँस उत्तम ठहरिएको छ। घना र तिखारिएका पात हुने भएकाले कुनै जीवजन्तु यसको घना घारीभित्र बस्न रुचाउँदैनन्। भेटिभेरको विशाल जरा प्रणाली, अत्यधिक प्रतिकूल बढ्दो अवस्थाहरूमा सहिष्णुता र उच्च स्तरको विषाक्तताहरूको सहिष्णुता भएकाले (नुन, भारी धातुहरू र एग्रोकेमिकल्सको माथिल्लो स्तरलाई सहिष्णु) छ। ल्यान्डफिल साइटहरूमा धेरै पानी लिने केरा र उखुभन्दा पनि उत्तम देखिएको छ ! यी खोजहरूको परिणामको आधारमा अस्ट्रेलिया, चीन, थाइल्यान्ड र भियतनाममा प्रयोग गरिएको छ।
हामीले अबको आवश्यकताअनुसार बायो इन्जिनियरिङका दृष्टि र व्यवस्थापनबाट ‘भेटिभर पद्धति’ विकास गरी सिसडोल ल्यान्डफिल साइट र पोखरा ल्यान्डफिल साइटको लिचेटसहित फोहोर व्यवस्थापन अघि सार्नुपर्छ। सिसडोल ल्यान्डफिललाई १५ हेक्टर जग्गा छुट्ट्याइएको छ। जसमा दुई हेक्टर ल्यान्डफिल क्षेत्रले ढाकेको छ। साइट संरक्षण÷बफर क्षेत्रका लागि १२ हेक्टर र बाँकी एक हेक्टर फोहोर व्यवस्थापनका लागि अन्य सुविधाहरूको लागि प्रयोग गरिएको छ। यहाँ पनि ल्यान्डफिल साइटको व्यवस्थापन गरी (लिचेटसहित) पूर्ण व्यवस्थापन सुधार्नु आवश्यकता देखिन्छ।
पोखरा महानगरपालिकाको बच्छे बडुवामा रहेको ल्यान्डफिल साइटको क्षेत्र करिब दुई सय रोपनी छ। यहाँ संरचना बनाउन सुरु गरिएको सन् १९९७ मा हो भने उद्घाटन डिसेम्बर २००४ बाट हो ! यो ल्यान्डफिल साइट पनि वातावरण र मानवीय हिसाबले व्यवस्थित देखिँदैन। अन्तर्राष्ट्रिय उड्डयन मापदण्डअनुसार ल्यान्डफिल साइटहरू विमानस्थलको १० किलोमिटर भित्र हुनु हुँदैन। हाल आएर पोखरा उपमहानगरपालिकाले वडा नं. ३३ मा ल्यान्डफिल सारेको छ। तर पुरानो ल्यान्डफिल साइटको उचित व्यवस्थापन (लिचेट सहित) गर्नुपर्ने आवश्यकता देखिन्छ।
मुलुकका सबै पालिकाहरूले अहिलेदेखि नै व्यवस्थित ल्यान्डफिलको अवधारणामा काम गर्न जरुरी छ। त्यसमा पनि वर्षौंदेखि हामीले भोगिरहेको काठमाडौंको बञ्चरेडाँडा र सिसडोल र पोखराको ल्यान्डफिलको समस्या समाधान गर्न भेटिभर प्रयोगसहितको बायोइन्जिनियरिङको योजनामा जानु अत्यावश्यक भइसकेको छ। स्थानीयवासीहरूलाई फोहोरको थुप्रोबाट निस्कने तरल पदार्थ, दुर्गन्ध, वातावरण प्रदूषणबाट मुक्ति दिलाउनको लागि अचुक उपाय र समाधान भनेको (सस्तो प्रविधि) भेटिभर घाँसको बिरुवा रोप्नु नै हो। भेटिभर घाँस रोप्नको लागि जय किसान नर्सरी, सर्लाहीमा बिरुवाहरू प्रशस्त रहेको र त्यसका लागि प्राविधिकहरूको टिम पनि तैनाथ रहेको छ। वरिपरि रहेका स्रोत र साधनहरूलाई प्रयोग गरेर हाम्रा समस्याहरूको समाधान गर्नु नै दीर्घकालीन ल्यान्डफिलदेखि अन्य बाढी, पहिरो, नदी कटान अर्थात् प्राकृतिक प्रकोपहरूबाट बच्ने अचुक औषधि हो। सबै नीति नियम बनाउनेदेखि कार्यान्वयन गराउनेसम्मले यो कार्य सुरु गर्नुपर्ने आवश्यकता छ।
‘‘भेटिभर’ खेतीबाट आर्थिक संकट निवारण सम्भव छ’
काठमाडौं – बगरमा परिणत भएको र अन्य कारणले प्रयोगविहीन जग्गालाई भेटिभरको सहयोगमा सदुपयोग गर्दा कृषिमा देखिएको व्यापार घाटाको समस्या हुने सुझाव दिइएको छ ।
कृषि अनुसन्धाता श्याम गोयन्काले जडिबुटी, उच्च मूल्यका कृषि उपज, इन्धन, जैविक मल, फलफूल, तरकारी, गेडागुडी, चिनी, कागज र दुग्ध उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थमा आत्मनिर्भर हुनाका साथै आवश्यकताभन्दा बढी भएको उत्पादनलाई निर्यात गरेर वैदेशिक मुद्रासमेत आर्जन गर्न सकिने उपाय सुझाउनुभएको छ ।
जुनसुकै हावापानी र जस्तोसुकै जमिनमा पनि उम्रन सक्ने क्षमता भएको भेटिभर झट्ट हेर्दा कुशजस्तो देखिने घाँस हो जसको वैज्ञानिक नाम क्रिसोपोगन जिजानियोइड्स हो । यसलाई खस खस भनेर पनि चिनिन्छ । बाह्रै महिना उम्रिने यो गुच्छेदार घाँस साढे एक मिटर (पाँच फिट) सम्म अग्लो हुने र यसका पात उखुको जस्तो तर अलि साँघुरो हुन्छ । यसको डाँठ भने सिधा र कडा हुन्छ । यसका टुप्पामा ससाना खैरो प्याजी रङका फूल फुल्छन् ।
तारजालीजस्तै फैलिने यसको महत्त्वपूर्ण भाग जरा जमिनमुनि तीन मिटर (१० फिट) भन्दा बढी तलसम्म पुग्छ भने जमिनमाथि लगभग पाँच फिट उचाइसम्म जान्छ । यो ठूलो चमत्कारिक बिरुवा हो । यसको जरा सुगन्धित हुन्छ । अम्लीय र क्षारीय दुवै खाले गुण भएको माटामा घाँस सजिलै उमार्न सकिन्छ । निकै छिटो बढ्न सक्ने यसको अर्को महत्वपूर्ण पक्ष हो । मलेसियामा गरिएको अनुसन्धानले यो घाँस प्रतिदिन पाँच सेन्टिमिटरका दरले ६० दिनभन्दा बढी समय बढ्ने गरेको पाइएको छ । हुर्किएको ६ महिनामा नै यसको जरा फैलिएर बिग्रिएको पानीको बहावसँगै बग्न लागेको माटो निकै कडाइका साथ एक आपसमा जोडेर राख्ने गर्छ ।
बाढीपहिरो र नदीको भेलका कारण नेपालमा बर्सेनि ठूलो परिमाणमा खेतीयोग्य जग्गा बगरमा परिणत भएर हाल करिब रु पाँच लाख हेक्टर जग्गा प्रयोगविहीन अवस्थामा रहेको जनाउँदै सञ्चारकर्मीसमेत रहनुभएका गोयन्काले खेतीयोग्य जग्गा न्यून हुँदै गएको र उत्पादन पनि कम हुँदै गर्दा पोषणयुक्त खाद्यान्न र खाद्य असुरक्षाको ठूलो जोखिममा विस्तारै धकेलिँदै गएको र नेपालमा कृषिजन्य वस्तुको वार्षिक व्यापार घाटा झण्डै रु दुई खर्ब रहेका अवस्थामा भेटिभरको खेतीबाट व्यापार घाटा सम्बोधन गरी आर्थिक क्रान्ति सम्भव गराउन सकिने विचार राख्नुभएको छ ।
‘खेर गएको जग्गा सदुपयोग गर्दा खाद्य, रोजगारी, ऊर्जा प्राप्त गर्न र गरिबी निवारण गर्नाका साथै वातावरण पनि जोगाउन सकिन्छ’, आफ्नो अध्ययनमा उहाँले उल्लेख गर्नुभएको छ ।
नेपालमा बाढीपहिराको जोखिम उच्च भएकाले यो घाँसको प्रयोगको ठूलो आवश्यकता रहेको जनाउँदै उहाँले बगरसहित प्रयोगविहीन जग्गामा भेटिभरको रोपण अपरिहार्य भएको बताउनुभएको छ । “भेटिभरको खेती गरेपछि उक्त जग्गा उर्वर भूमिमा परिणत हुन्छ । नेपालमा खेतीयोग्य ठूलो जग्गा बर्सेनि बगरमा परिणत भएकाले यस्ता जग्गालाई भेटिभरको सहयोगमा पुनः कृषि भूमिमै फर्काउनका लागि किसानलाई सहयोग गर्न नीतिगत व्यवस्था गर्न आवश्यक छ”, उहाँको भनाइ छ । सरकारको नीति तथा कार्यक्रममा यसको खेती थालनी तथा प्रवद्र्धनका बुँदा राख्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
नदी नियन्त्रण गर्न तथा पहाडी भेगमा भूक्षय गएर सडक–बस्तीमा पहिराकोजोखिम निम्तने खतरालाई भेटिभरकै सहयोगमा व्यवस्थापन गर्न सकिने जनाउँदै उहाँले बायो इन्जिनियरिङ प्रविधि तुलनात्मक रुपमा सस्तो रहेको पनि औँल्याउनुभएको छ ।
यो लामो समयसम्म उत्पादन हुने, खडेरी प्रतिरोधी, नुनिलो र पानी जमेको स्थानमा पनि सजिलै लगाउन सकिने, भूमिगत पानीलाई पुनःभरण गर्न पनि सहयोग प्रदान गर्ने, प्रदूषणयुक्त पानी शुद्धिकरण गरी सो गुणस्तरमा सुधार गर्ने प्रक्रियामा उल्लेखनीय भूमिका खेल्नाका साथै फलाम तथा अन्य खानी भएको भूमिलाई पनि उर्वरभूमिमा परिणत गरिदिने चमत्कारिक घाँस भएको अध्ययनमा जनाइएको छ ।
भेटिभरले बगरमा परिणत भएको माटाभित्रको नकारात्मक तत्त्वलाई सोसेर उर्वर बनाइदिने र मृत बनेको माटालाई पूर्ण रुपमा जीवित बनाइदिने जनाउँदै उहाँले नाइट्रोजन, फस्फोरस, पोटासियम, म्याग्नेसियमजस्ता पौष्टिक तत्त्व भएकाले यसले जैविक मलको काम गर्ने तथा कार्बनको मात्रालाई शोषण गरी जराले जमिनमुनि पर्याप्त परिमाणमा नाइट्रोजन उपलब्ध गराएर माटालाई उर्वर भूमिमा परिणत गरिदिने उल्लेख गरिएको छ ।
यसको पात र जराको प्रयोग गरी हस्तकलाका सामग्री इत्यादि निर्माण, अत्तर, सुगन्धित तेल, जलाएर अँगार र ब्रिकेटजस्ता उपयोगी सामग्री निर्माण गर्न सकिने जनाइएको छ । भेटिभर जराको तेल नै प्रतिलिटर रु ३० हजारमा बिक्री हुने बताइएको छ । भेटिभरसहित नैपियर घाँस, सोइजन (मोरिङ्गा), बाँस, उखु, मकै, अश्वगन्धा, बेसार, गेडागुडी, फलफूल, तितेपाती, दलहनजस्ता बहुगुणी बालीको खेती गर्न पनि उहाँले सुझाव दिनुभएको छ । अहिले मुलुकमा देखिएको विभिन्न प्रकारका खाद्यान्न, फलफूल, तरकारी, दलहन, तेलहन बस्तुको अभाव, खाद्य असुरक्षा र कुपोषणजस्ता समस्या पनि सधैँका लागि अन्त्य गर्न सकिने उहाँको अध्ययनमा जनाइएको छ ।
बगरमा परिणत भएको पाँच लाख हेक्टर जग्गालाई प्रयोगमा ल्याउन लगानीका साथै वैज्ञानिक र प्राविधिक रुपमा काम गर्नुपर्ने तथा यस्तो जग्गामा दुईतीन वर्ष लगानी र अथक परिश्रम गर्नुपर्नेमा जोड दिँदै कृषि अनुसन्धाता गोयन्काले सुरुमै जग्गाको प्रयोग गरी धेरै रकम आर्जन गर्ने सोच र सपना नदेखी कालान्तरमा राष्ट्रिय हितका लागि सोच्न सरकार तथा लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
प्रयोगविहीन जग्गामा भेटिवरको खेतीः आर्थिक क्रान्ति सम्भव
बाढी पहिरो र नदीको भेलका कारण नेपालमा बर्षेनी ठूलो परिमाणमा खेतीयोग्य जग्गा बगरमा परिणत भएर प्रयोगहीन अवस्थामा पुगिरहेको छ । अहिले नै करिब ५ लाख हेक्टर यस्तो जग्गा प्रयोगविहीन अवस्थामा छ । खेतीयोग्य जग्गा न्यून हुँदै गएको र उत्पादन पनि कम हुँदै गर्दा पोषणयुक्त खाद्यान्न र खाद्य असुरक्षाको ठूलो जोखिममा विस्तारै धकेलिदैं गएको अवस्थालाई नकार्न सकिन्न । उत्पादन कम हुँदा नेपालमा कृषिजन्य वस्तुको वार्षिक व्यापार घाटा झण्डै २ खर्ब छ ।
यसरी बगरमा परिणत भएको र अन्य कारणले प्रयोगविहीन अवस्थामा पुगेको जग्गालाई भेटिवरको सहयोगमा सदुपयोग गर्दा कृषिमा देखिएको व्यापार घाटाको समस्या कम गर्न सकिन्छ । साथै जडिबुटी, उच्च मूल्यका कृषि उपज, इन्धन, अर्गानिक मल, फलफूल, तरकारी, गेडागुडी, भेटिवरका सहउत्पादनहरु, चिनी, कागज, डेरी उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थमा आत्मनिर्भर हुन सकिन्छ । आवश्यकताभन्दा बढी भएको उत्पादनलाई निर्यात गरेर वैदेशिक मुद्रासमेत आर्जन गर्न सकिन्छ ।
के हो भेटिभर ?
जुनसुकै हावापानी र जस्तोसुकै जमिनमा पनि उम्रन सक्ने क्षमता भएको भेटिवर झट्ट हेर्दा कुशजस्तो देखिने घाँस हो । यसको वैज्ञानिक नाम क्रिसोपोगन जिजानियोइड्स हो । यसलाई खस खस भनेर पनि चिनिन्छ । बाह्रै महिना उम्रिने यो गुच्छेदार घाँस हो । साढे १ मिटर (५ फिट) सम्म अग्लो हुने यसका पात उखुको जस्तो तर अलि साँघुरो हुन्छ । यसको डाँठ भने सिधा र कडा हुन्छ । यसको टुप्पोमा स–साना खैरो प्याजी रंगका फूल फुल्छन् । यसको सबैभन्दा महत्वपूर्ण भाग जरा हो । तारजालीजस्तै फैलिने यसको जरा जमिनमुनि ३ मिटर (१० फिट) भन्दा तलसम्म पुग्छ भने जमिनमाथि यो लगभग ५ फिट उचाईसम्म जान्छ ।
यो ठूलो चमत्कारिक बिरुवा हो । यसको जरा सुगन्धित हुन्छ । यस अम्लीय र क्षारीय दुवैखाले गुण भएको माटोमा घाँस सजिलै उमार्न सकिन्छ । निकै छिटो बढ्न सक्ने यसको अर्को महत्वपूर्ण पक्ष हो । मलेसियामा गरिएको अनुसन्धानले यो घाँस प्रतिदिन ५ सेन्टिमिटरका दरले ६० दिनभन्दा बढी समय बढ्ने गरेको पाइएको छ । हुर्किएको ६ महिनामा नै यसको जरा फैलिएर बिग्रिएको पानीको बहावसँगै बग्न लागेको माटोलाई निकै कडाईका साथ एकापसमा जोडेर समातेर राख्ने गर्छ ।
नेपालमा बाढी पहिरोको जोखिम उच्च भएकाले यो घाँसको प्रयोगको ठूलो आवश्यकता छ । बगरसहित प्रयोगविहीन जग्गामा भेटिवरको रोपण अपरिहार्य छ । भेटिवरको खेती गरेपछि उक्त जग्गा उर्वर भूमिमा परिणत हुन्छ । नेपालमा खेतीयोग्य ठूलो जग्गा बर्षेनी बगरमा परिणत भएकाले यस्ता जग्गालाई भेटिवरको सहयोगमा पुनः कृषि भूमिमै फर्काउन किसानलाई सहयोग गर्न नीतिगत व्यवस्था गर्न आवश्यक छ ।
बाढीबाट नदी नियन्त्रण र पहाडी भेगमा भूक्षय गएर सडक, बस्तीमा पहिरोको जोखिम निम्तिने खतरालाई भेटिवरकै सहयोगमा व्यवस्थापन गर्न सकिन्छ । वायो इन्जिनियरिङ्ग प्रविधिभन्दा अहिले चलन चल्तिमा रहेको इन्जिनियरिङ्ग प्रविधि निकै खर्चिलो छ । यसको प्रयोग निकै प्रभावकारी मानिएपनि नेपालमा भेटिवरको प्रयोगको अभ्यास निकै कम छ ।
यो लामो समयसम्म उत्पादन हुने घाँस हो । खडेरी प्रतिरोधी, नुनिलो र पानी जमेको स्थानमा पनि सजिलै यो घाँस लगाउन सकिन्छ । यसले भूमिगत पानीलाई रिचार्ज गर्न पनि सहयोग प्रदान गर्छ । यसले प्रदूषणयुक्त पानीलाई शुद्धीकरण गरी पानीको गुणस्तरमा सुधार गर्ने प्रक्रियामा उल्लेखनीय भूमिका खेल्दछ । यसबाहेक फलाम तथा अन्य खानी भएको भूमिलाई पनि उर्वर भूमिमा परिणत गरिदिने चमत्कारिक घाँस हो यो । www.vetiver.org मा भेटिवरका बारेमा धेरै जानकारी उपलब्ध छ ।
भेटिवरले अधिकतम दिगो विकास सूचकलाई (SDG) आत्मसाथ गर्दछ ।
भेटिवरबारे प्रस्तावना र अवधारणा
प्रयोगविहीन र काम नलाग्ने अवस्थामा रहेका पर्ति, खोला उकास, बाढीको बालुवा र ढुङ्गाले पुरेर बनाएको बगर जग्गा, ऐलानी तथा अन्य प्रकारका अव्यवस्थित जग्गा सरकारले कम्तिमा लामो अवधिको लागि भाडामा उपलब्ध गराइदिनुपर्छ ।
बाढीले बगरमा परिणत गरेको करिब ५ लाख हेक्टर जग्गालाई पुनः उर्वरमय बनाउन सकिन्छ । यो ५ लाख हेक्टर जग्गालाई कृषि यान्त्रीकरणको सहयोगमा व्यवसायिक र आधुनिक तवरले पर्माकल्चरमा आधारित एग्रो फोरेष्ट्रीको अवधारणा कार्यान्वयनमा ल्याउन सक्ने योजनालाई साकार पार्न सकिन्छ । बाढीले बगर बनाइदिएको जग्गालाई पूर्व अवस्थामै ल्याएर किसानको जीवनस्तर सुधार्न सकिन्छ । यस्तो अवस्थामा सरकारले जग्गा उपलब्ध गराउन सके उपयोगविहीन जग्गाको सदुपयोग गरी कृषिमा क्रान्ति गर्न सकिन्छ ।
यस्तो जग्गाको सदुपयोग गरी प्रमुख खाद्यान्न, तरकारी, फलफूल, गेडागुडी, जडिवुटीजन्य बस्तुको पर्याप्त परिमाणमा दिगो उत्पादन गर्न सकिन्छ । साथै कृषिजन्य उद्योग कलकारखानालाई आवश्यक पर्ने विभिन्न प्रकारका कच्चा पदार्थ दिगो रुपमा उपलब्ध गराउनुका साथै सरकारी सहयोगमा २० देखि २५ लाख युवाशक्तिलाई स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्न सकिन्छ ।
यसमा बाढीले बगरमा परिणत गरेका जग्गाधनी किसानलाई पनि रोजगारीको अवसरमा जोड्न सकिन्छ । यसका साथै बायो इनर्जीको ग्यारेन्टी, अर्थतन्त्रमा टेवा, खाद्य तथा पोषणयुक्त खाद्य पदार्थको उत्पादन र सुरक्षा, स्वच्छ वातावरण, रोजगारको ग्यारेन्टी, वैदेशिक व्यापार घाटालगायतका क्षेत्रमा ठूलो सहयोग गर्न सकिन्छ ।
यो घाँसको सहयोगमा बाढीको प्रभावलाई अधिकतम मात्रामा कम गर्न सकिन्छ । भेटिभरले खोलोलाई नियन्त्रण गर्दै माटोको कटानलाई रोक्न सकिन्छ । साथै बगरमा परिणत भएको जग्गालाई सधैको लागि कृषियोग्य जग्गाको रुपमा फर्काउन सकिन्छ । भेटिवर एउटा वायो इन्जिीनियरिङ्ग टुलका साथै सस्टेनेवल एग्रीकल्चर र गरिवी निबारण गर्ने ठुलो माध्यम हो । भेटिभर ड्याम (बाँध) को काम गर्न सक्षम छ । जहाँबाट जग्गा कटान भएको छ, त्यहाँ भेटिभर रोपेमा पुनः त्यहाँ बाढी आउँदा रोक्न सक्षम हुन्छ ।
जीवन दिन्छ भूक्षय र बगर खेतलाई
गरिबी र वेरोजगारी समस्या समाधान गर्न, उत्पादन बृद्धि गर्न, पोषणयुक्त खाद्य सुरक्षाको ग्यारेन्टी गर्न, रोजगारको प्रत्याभूति, इनर्जी सेक्युरिटी, राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन र स्वच्छ वातावरण तयार पार्न एउटै सर्वोतम विकल्प हो, कृषितन्त्र ।
नेपालमा प्रतिव्यक्ति सिँचित जग्गाको स्वामित्व ०.०७ हेक्टर मात्रै छ । यो सानो क्षेत्रफलले व्यवसायिक र आधुनिक प्रणालीबाट कृषि कर्म गर्न सम्भव छैन । न त कृषिमा आत्मनिर्भर भएर बढ्दो आयात दरलाई कम गर्न सक्छौं । अर्को महत्वपूर्ण पाटो व्यवसायिक, अत्याधुनिक र वैज्ञानिक तबरबाट कृषि खेतीपाती गर्न उपयुक्त क्षेत्रफल भएको जग्गा पनि उपलब्ध छैन ।
स–साना टुक्रामा बाँडिएका जग्गाबाट अबको समयमा कृषि प्रणालीलाई अगाडि बढाउन सम्भव छैन । अब हामी कतैबाट पनि खेतीयोग्य जग्गा थप्न सक्ने अवस्थामा छैनौ । हामीसँग दुई विकल्प मात्रै छन् । एउटा प्रयोगविहीन जग्गालाई भेटिवरको सहयोगमा उर्वर भूमिमा परिणत गरी पर्याप्त उत्पादन लिने र अर्को मल्टि लेयर प्रविधिमा आधारित कृषि प्रणालीलाई आत्मसात गर्ने ।
नदी तटीय क्षेत्रमा हुने बाढीको बहाव, कटान रोक्ने मात्रै होइन, बाटोमा पहिरो भएर भूक्षय रोक्न भेटिवरले जैविक पर्खालको काम गर्ने विज्ञहरुको भनाई छ । भारत, अमेरिका, केन्या, थाइल्यान्डलगायतका मुलुकका सडक र नदी किनारमा भूक्षय रोक्न भेटिवरको प्रसस्त रुपमा रोपण गरिएको छ ।
भारतको आन्ध्र प्रदेशमा गरिएको प्रयोगले पानीको वहावमा ६९ प्रतिशत र भूक्षयमा ७६ प्रतिशत कमी आएको देखाएको छ । भेटिवरको प्रयोगले भूक्षयलाई प्रति हेक्टर ११ टनबाट ३ टनसम्म घटाएको पाइएको छ । भिरालो जमिनमा लहरै रोपिएका भेटिवरले पानीलाई रोक्ने छेकवारको जस्तै काम गर्छ । यो घाँसले पानीको बहावको गति घटाउने र पानीलाई माटोमै शोषण गरी राख्ने भएकाले भूक्षय घटाउन सम्भव भएको हो ।
आगलागी भएपनि यो ३ हप्तामा पुनः उम्रिन्छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संघ (एफओ) का साथै विश्व बैंकले समेत बाढी पहिरोबाट प्रभावित भएको कृषियोग्य जग्गामा भेटिभरको रोपण गरेर कृषिमा कायापलट गर्न सक्ने प्रतिवेदन दिएको छ ।
के के पाइन्छ भेटिवरमा ?
भेटिभरले बगरमा परिणत भएको माटोभित्रको नकरात्मक तत्वलाई सोसेर माटोलाई उर्वर बनाइदिन्छ । मृत बनेको माटोलाई भेटिवरले पूर्ण रुपमा जीवित बनाइदिन्छ । भेटिवरमा नाइट्रोजन, फस्फोरस, पोटासियम, म्याग्नेसियमजस्ता पौष्टिक तत्व भएकाले यसले कम्पोष्ट मलको काम गर्छ । भेटिभरmे कार्वनको मात्रालाई शोषण गरी यसको जराले जमिनमुनि पर्याप्त परिमाणमा नाइट्रोजन उपलब्ध गराएर माटोलाई उर्वर भूमिमा परिणत गरिदिन्छ ।
भेटिवरको पात र जराको प्रयोग गरी हस्तकलाका सामग्री निर्माण, अत्तर, सुगन्धित तेल, जलाएर चारकोल र ब्रिकेटजस्ता उपयोगी सामग्री निर्माण गर्न सकिन्छ । यसको जराको तेल नै प्रतिलिटर ३० हजार रुपैयाँमा विक्री हुन्छ ।
माटोको जैविक उपचार
खेती प्रणालीमा आधुनिकीकरण भित्रिएसँगै मल, किटनाशक पदार्थको रुपमा विभिन्न रासायनिक पदार्थको प्रयोग बढेको छ । यसले गर्दा माटो र पानीको गुणस्तर खस्किाएको छ । ती रसायनिक पदार्थमा भएका हानीकारक रसायन (आर्सेनिक, क्याडमियम, तामा, क्रोमियम, सिसा (लिड), पारो, निकेल, सेलेनियम, जिंक) लाई माटोमा घुल्न नदिएर भेटिवरले बिग्रिएको माटोको जैविक उपचार गर्न सक्छ । वैज्ञानिकहरुले गरेको अनुसन्धानबाट हानिकारक धातुलाई माटोमा घुल्नबाट रोक्ने क्षमता अन्य वनस्पतिको तुलनामा भेटिवरमा सय दोब्बर भन्दा बढी हुने देखाएको छ ।
हानिकारक कीरा बाट कृषिवाली जोगाउन विभिन्न रासायनिक पदार्थ प्रयोग हुँदै आएको छ । यसले गर्दा माटोको उर्वर क्षमतासमेत ह्रास हुन्छ । चीनको ग्वाङ्सी विश्वविद्यालयमा गरिएको अनुसन्धानले बालीमा क्षति पु¥याउने ७९ प्रजातिका यस्ता कीरा र सुक्ष्म किटमध्ये जम्मा ४ प्रकारका प्रजातिले मात्रै भेटिवरको पातमा नोक्सान गर्न सक्छ । यसले गर्दा किट र सुक्ष्म शत्रु किटबाट जोगाउन पनि यो घाँस निकै लाभदायक मानिन्छ ।
भेटिवर घाँसको प्रयोगले बाली उत्पादन पनि बढाउने विभिन्न अनुसन्धानले देखाएको छ । खास गरी भूक्षय हुने सम्भावना भएको भिरालो जमिनमा यो घाँस लगाउँदा बाली उत्पादन बढ्ने गरेको पाइएको छ । नाइजेरियामा भेटिवरको प्रयोगले केराउको उत्पादनमा २६ प्रतिशत र मकैमा ५० प्रतिशतसम्म उत्पादन वृद्धि भएको पाइएको छ ।
भेटिबरको उपयोगिता
विभिन्न कारणले भेटिवर मानव जातिको लागि निकै ठूलो वरदान सावित भएको छ । यसको जरा, डाँठ (काण्ड) र पात सबै लाभदायक मानिन्छ । भेटिवरको जराबाट बास्नादार तेल तयार हुन्छ र यस्तो तेलको उच्च मूल्यका औषधी तथा अत्तरमा प्रयोग गरिन्छ । एक हेक्टरमा भेटिवरको खेती गर्दा ३ देखि ४ टनसम्म जरा उत्पादन हुन्छ । यो जराबाट करिब १५ लिटर तेल उत्पादन गर्न सकिन्छ । यस्तै यसको पातको प्रयोग गरी इथानोल उत्पादन गर्न सकिन्छ । चिनी र उखुको वैकल्पिक रुपमा पनि यो घाँसलाई प्रयोग गर्न सकिन्छ ।
भारत र नाइजेरियामा त साँध छुट्टयाउनका लागि पनि यसको प्रयोग गरिएको छ । जिम्बाबे, मौरिससलगायतका मुलुकका किसानले बालीनाशक झारबाट बालीलाई जोगाउन यो घाँस लगाउने गरेका छन् ।
भेटिभरसहित नैपियर घाँस, सोइजन (मोरिङ्गा), बाँस, उखु, मकै, अश्वगन्धा, बेसार, गेडागुडी, फलफूल, तितेपाती, दलहनजस्ता बहुगुणी वालीको खेती गर्न सकिन्छ । अहिले मुलुकमा देखिएको विभिन्न प्रकारका खाद्यान्न, फलफूल, तरकारी, दलहन, तेलहन बस्तुको अभाव, खाद्य असुरक्षा र कुपोषणजस्ता समस्या पनि यसको खेतीबाट अन्त्य गर्न सकिन्छ ।
आवश्यकता लगानीको
बगरमा परिणत जग्गामा २–३ बर्ष लगानी र अथक परिश्रम गर्नुपर्छ । तर यसपछि यसले ठूलो प्रतिफल दिन्छ । सुरुमै यो जग्गाको प्रयोग गरी ठूलो पैसा आर्जन गर्ने सोच र सपना देख्नु हुन्न । खर्चको मूख्य भाग जनशक्तिमै जान्छ । आखिर श्रोत साधन त हाम्रै देशमा रहने भयो । तसर्थ यस्तो लगानी राष्ट्रिय हितमा नै छ । यसपछि दोश्रो लगानी बोटविरुवा रोपण, रेखदेख र हुर्काउनलगायतमा लाग्नेछ ।
बहु आम्दानीको श्रोत
एग्रो फरेष्ट्री तथा पर्माकल्चरको सिद्धान्तमा बगरमा परिणत जग्गामा एकल वालीभन्दा बहु जातका बाली लगाउनु पर्दछ । ‘भर्टिकल तथा हरिजेण्टल’ खेती प्रणालीअनुसार भेटिवर, नैपियर घाँस, बाँस, अश्वगन्धा, सितलचिनी (मोरिंगा–सोइजन), फलफूल, धान, मकै, गहुँसहित विभिन्न प्रकारका बहुमुल्य जडिबुटी, लहरेबाली, कोशेवाली, तरकारी बाली, उखुवाली, माटो मुनि हुने वाली (आलु, गाजर, सखरकण्ड, तरुललगायत), ठूलो रुख बिरुवा (आँप, कटहर, लिची, केरालगायत), दाल, तेलहनवाली, विभिन्न प्रकारका घाँसेवालीलगायत दुई दर्जनभन्दा बढी बाली एकै पटक लगाउन सकिन्छ ।
जोडौं औद्योगिक उत्पादनसँग
यस्तो वालीबाट आउने विभिन्न प्रकारका कच्चा पदार्थको सहयोगमा चिनी, कागज, डेरी, प्रशोधित तथा सुगन्धित तेल र अत्तर उद्योग आदि दीर्घकालीन रुपमा सञ्चालन गर्न सकिन्छ । विभिन्न प्रकारका बोटविरुवाको पात, डाँठ र झारपातबाट बायोमास, वायोमासबाट वायो ग्यास र वायो ग्यासबाट सीएनजी पनि ठूलो परिमाणमा उत्पादन गर्न सकिन्छ । यसबाहेक यस्तो जग्गामा पशुपालनदेखि माहुरी पालन पनि गरी पर्याप्त परिमाणमा महसमेत उत्पादन गर्न सकिन्छ ।
बालीहरु भ्यालु चेनको आधारमा थप अर्को उत्पादन लिन सकिन्छ । विभिन्न प्रकारका जडिवुटीबाट औषधीजन्य उत्पादन गर्न सकिन्छ । गुणस्तरीय औषधी उत्पादन गरी ग्लोबल मार्केटिङ गरी नेपालको मल्टिनेशनल ब्राण्ड नै स्थापना गर्न सकिन्छ । यसका साथै यसलाई एग्रो टुरिज्मको अवधारणासँग पनि जोड्न सकिन्छ ।
भेटिभरको तेल, वायोमास तथा जरा बिक्री गरेर किसानले राम्रो आम्दानी लिन सक्षम हुन्छन् । यसबाहेक उनीहरुले कार्वन क्रेडिटबाट लाखौं रुपियाँ बराबरको आय आर्जन गर्न सक्छन् । नेपालमा कार्वन उत्सर्जन बार्षिक करिब ८० लाख टन छ । यो योजनाअनुसार वायो इनर्जीको उत्पादनले यो उत्सर्जनलाई पूर्ण रुपमा निषेध गर्न सकिन्छ । जुन निषेध भएपछि कार्वन उत्सर्जनको क्वान्टम त्यसै पनि निकै न्युन हुन जान्छ ।
एक हेक्टरबाट औषत ४५ टन वायोमास उत्पादन हुन सक्छ । यस हिसाबले ५ लाख हेक्टरबाट २ करोड २५ लाख टन वायोमास उत्पादन गर्न सकिन्छ । यो वायोमासलाई प्रशोधन गर्दा कम्तिमा १ करोड ८० लाख टन अर्गानिक मल उत्पादन हुन सक्छ । यस्तै प्रचुर परिमाणमा वायो ग्याससहित वायो सीएनजी उत्पादन गर्न सकिन्छ । वायो ग्यासको सदुपयोग गरी अहिले खाना पकाउन प्रयोग हुने एलपी ग्यासलाई विस्थापित गर्न सकिन्छ ।
आर्थिक रुपमा हेर्दा अर्गानिक मल प्रति किलो १० रुपैयाँका दरले मात्रै हिसाव गर्दा १ खर्ब ६३ अर्ब २९ करोड ३२ लाख मूल्य बराबरको १ करोड ८० लाख टन अर्गानिक मल तयार हुन्छ । अहिले नेपालमा मल आयात गर्नका लागि सरकारले करिब ११ देखि १५ अर्ब रुपैयाँसम्म अनुदान उपलब्ध गराउँदै आएको छ । इन्धनको नाममा हुने ठूलो आयातलाई पनि यसको सहयोगमा धेरै हदसम्म प्रतिस्थापन गरिन्छ ।
प्रतिकृया दिनुहोस्