इन्टर्नसीप अवधिको सेवा सुविधा नपाएपछि धुलिखेलको पतञ्जलि आयुर्वेद मेडिकल कलेजका विद्यार्थी आन्दोलित
काठमाडौँ । इन्टर्नसीप अवधि वापतको सेवा सुविधा नपाएपछि काभ्रेको धुलिखेलस्थित पतञ्जलि आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरका विद्यार्थी आन्दोलित बनेका छन् । क्याम्पसले इन्टर्नसीप अवधिमा उपलब्ध गराउनुपर्ने निर्वाह भत्ता दिन नमानेपछि आयुर्वेद स्नातक उत्तीर्ण गरी अस्थायी दर्ता पत्र प्राप्त गरेका विद्यार्थीले कलेज र सम्बन्धित अस्पतालमा तालाबन्दी गरी आन्दोलनमा उत्रेका हुन् ।
नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठ साथै परिषद्द्वारा दर्ता आयुर्वेद क्याम्पस कीर्तिपुरले इन्टर्न डाक्टरलाई मासिक निर्वाह भत्ता उपलब्ध गराउँदै आएको छ । पतञ्जलि कलेजले भने भत्ता नदिने भनेपछि आफूहरू आन्दोलित बन्नुपरेको विद्यार्थीले बताएका छन् । क्याम्पस प्रशासनलाई विद्यार्थीले २ माघ २०८० मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको परिपत्रको स्मरण पनि गराएका छन् ।
मन्त्रालयका सचिवको अध्यक्षमा २६ पुस २०८० मा बसेको बैठकले आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्टर्न डाक्टर तथा स्वास्थ्यकर्मीको सेवा सुविधा (निर्वाह भत्ता) मा विविधता देखिएको भन्दै सबै शिक्षण संस्थाहरूमा सो सेवा सुविधाहरू न्यूनतम सरकारी सरह कायम गर्नका लागि आवश्यक सहजीकरण गर्न भनेको थियो ।
प्रतिकृया दिनुहोस्