उपत्यकाका विभिन्न स्थानमा सामान्य देखि मध्यम बर्षा
काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सामान्य देखि मध्ययम वर्षा भएको छ । सोमबार मध्याह्नपख उपत्यकाका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको हो ।
मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरूमा वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।
यो क्रम आज दिनैभरी रहने उनले बताए । ‘आज दिनभर बदली र वर्षाको सम्भावना छ। छिटपुटदेखि मध्यम वर्षा भइरहेको छ। भारी वर्षा भने भएको छैन,’ उनले भने । उनकाअनुसार मंगलबारबाट मात्रै मौसममा सुधार आउने देखिन्छ ।
‘हामीले तिहारमा पानी पर्छ भनेर यसअघि नै प्रक्षेपण गरेका थियौं । भोलिबाट मात्रै मौसममा सुधार आउँछ,’ उनले भने । धान थन्क्याउने याम पानी पर्दा किसानहरू चिन्तित बनेका छन् । भोलिबाटै मात्रै बाली थन्क्याउन मौसमविद्हरूले सुझाव दिएका छन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको मौसम प्रणालीमा अहिले पश्चिमी वायु, स्थानीय वायुको प्रभावका छ ।
त्यस्तै भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावका कारण वर्षा भइरहेको हो । सोमबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको थियो ।
प्रतिकृया दिनुहोस्