स्याङ्जाको कालीगण्डकीमा खेल महोत्सव हुँदै

स्याङ्जाको कालीगण्डकीमा खेल महोत्सव हुँदै

स्याङ्जा । जिल्लाको कालीगण्डकी गाउँपालिकाले ‘छैटौं अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सव’ आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा महोत्सव हुने खेल महोत्सव तीन दिन सञ्चालन हुनेछ । यही मंसिर १४ देखि १६ गतेसम्म खेल सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष तथा खेल महोत्सव मूल समितिका संयोजक साबित्रा कोइरालाले बताइन् ।

प्रतियोगितामा ७ खेलका २२ विधामा प्रतिस्पर्धा हुनेछ । करिब सात सय खेलाडी सहभागी हुनेछन् । एउटा वडाबाट ९८ जना खेलाडीले विभिन्न खेलमा भाग लिने उनले बताइन् । खेल महोत्सवमा फुटबल, क्रिकेट, भलिबल, ब्याडमिण्टन, टेबुल टेनिस, दौड, बुद्धिचाल प्रतियोगिता हुनेछ ।

खेल महोत्सवको तयारी पूरा भएको छ । महोत्सवको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नेछन् । मंसिर १४ गते शुक्रबार बिहान १० बजे मिर्मी खेलमैदानमा खेलको उद्घाटन गर्ने कार्यक्रम रहेको कोइरालाले बताइन् । बेल्टारी खेल मैदानमा समेत खेल सञ्चालन हुने उनले बताइन् ।

कालीगण्डकी गाउँपालिकाले विगत सात वर्षदेखि अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सव हुँदै आएको छ । यहाँका युवा र खेलाडीको मागअनुसार खेल महोत्सव संचालन गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए । लुकेर रहेका खेलाडीको प्रतिभालाई बाहिर ल्याउन महोत्सवका रूपमा विभिन्न खेल प्रतियोगिता आयोजना गरेको उनले बताए ।

लोकप्रिय