आजदेखि गाजामा युद्धविराम, हमासले छाड्दैछ तीन बन्धक

आजदेखि गाजामा युद्धविराम, हमासले छाड्दैछ तीन बन्धक

काठमाडौँ । इसराइल हमासबीचको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन हुँदैछ । एक सातादेखिको प्रयासपछि शुक्रबार इसराइलले हमासमा युद्धविराम गर्न सहमति गरी मन्त्रिपरिषदबाट अनुमोदन गरेको थियो । समाचार संस्था रोयटर्सका अनुसार आइतबार मध्याह्न हमासले तीन बन्धक छाड्ने छ । बन्धकमुक्त हुने तीनै जना इसराइली महिलाहरू रहने पनि रोयटर्सले जनाएको छ ।

हमासले तीन बन्धक छाड्दा इसराइली जेलमा रहेका ९० जना कैदी रिहा हुनेछन् । सम्झौतामा एक महिला बन्धक हमासले छाडेबापत इसराइलले ३० कैदी रिहा गर्ने भनिएको छ । हमासले बन्धकमुक्त गरेकाहरूलाई रेड क्रसले इसराइल पुर्‍याउनेछ ।

सम्झौता कार्यान्वयन गर्नुअघि इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले सम्झौता अनुसार बन्धकहरू नछाडिए वा सम्झौता कार्यान्वयन तलमाथि भए गाजामा पुनः आक्रमण गर्ने र त्यसका लागि अमेरिकाले पनि सहमति दिएको बताएका छन् ।

सम्झौता अनुसार युद्धविरामको पहिलो ४२ दिनमा हमासले ३३ जना बन्धक रिहा गर्नेछ भने इसराइलले त्यहाँका जेलमा रहेका प्यालेस्टिनी नागरिकहरूलाई रिहा गर्नेछ । युद्धविराम घोषणा भएको पहिलो दिन हमासले तीन जना बन्धक रिहा गर्नेछ । सुरूमा महिला र इसराइली सेनालाई हमासले बन्धकमुक्त गर्नेछ । हमासले बन्धकमुक्त गर्ने एक इसराइली नागरिकको बदलामा इसराइलले ३० प्यालेस्टिनी कैदी र एक महिला सैनिकको बदलामा ५० जना कैदी रिहा गर्नेछ ।

त्यसको एक सातापछि हमासले चार जना बन्धक रिहा गर्नेछ भने त्यसको बदलामा तोकिएअनुसारको कैदी इसराइलले रिहा गर्नेछ । त्यसपछि एक एक सातामा हमासले बन्धक रिहा गर्ने र इसराइलले प्यालेस्टिनी कैदी रिहा गर्ने सम्झौतामा उल्लेख छ ।

पहिलो चरणको युद्धविरामको ४२ दिनभित्रै अर्को सम्झौता गरिसक्नुपर्ने चुनौती मध्यस्तकर्ताहरूलाई रहनेछ । यदी ४२ दिनभित्रै दोस्रो चरणको युद्धविराम सम्झौता नभए इसराइलले फेरि गाजामा आक्रमण गर्न सक्ने खतरा उत्पन्न भएको छ । पहिलो चरणको युद्धविरामको समयमा इसराइली सैनिक गजाबाट नफर्कने बरू त्यहाँका वस्तिबाट किनारतिर सर्ने भनिएको छ । त्यस अवधिमा त्यहाँबाट अन्यत्र भागेकाहरू गजामा फर्केर मानवीय सहायता लिन सक्नेछन् ।

४२ दिनपछि हुने दोस्रो चरणको युद्धविराममा गाजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ । दोस्रो चरणको युद्धविरामपछि इसराइली सैनिक गजा क्षेत्रबाट फर्कने भनिएको छ ।

तेस्रो चरणको युद्धविराममा गाजामा मारिएका इसराइली बन्धक र इसराइलमा मारिएका प्यालेस्टिनी लडाकुको शव एक अर्कालाई फर्काइने छ । त्यसपछि गाजामा पुनःनिर्माण योजना कार्यान्वयन गरी इसराइल र गजाको सीमाना खुला गरिने सम्झौतापत्रमा उल्लेख छ । एजेन्सी ।

लोकप्रिय