नसर्ने रोग पहिचानको लागि एक महिने देशभर निःशुल्क परीक्षण

नसर्ने रोग पहिचानको लागि एक महिने देशभर निःशुल्क परीक्षण

काठमाडौं । सरकारले फागुन महिनाभर नसर्ने रोगको पहिचानको लागि एक महिने निःशुल्क राष्ट्रिय अभियान आजदेखि संचालन गरेको छ।

नेपालमा पछिल्लो समयमा नसर्ने रोगका कारण मृत्युहुनेको संख्या लगभग तीन चौथाई अनुपातले बढ्दै गएकोले सम्बन्धित जनचेतनाका लागि फागुन १ गतेदेखि देशभर नै एक महिने अभियान सञ्चालन गरेको हो । मधुमेह, उच्चरक्तचाप र मृगौला लगायत रोगहरूको पहिचान अभियान २०८१ लाई एक महिनासम्म देशभरका सरकारी स्वास्थ्य संस्थामा निःशुल्क रुपमा परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पढे लेखेकाहरूले नै नियमित स्वास्थ्य परीक्षण नगरेको पाइन्छ त्यसैले नसर्ने रोगको जोखिम कम गर्न नियमित परीक्षण गर्ने बानी बसाल्न विशेषगरी ३० वर्ष माथिका सम्पूर्ण नागरिकहरुको नर्सने रोगको निःशुल्क परीक्षण आजदेखि सञ्चालन गरिएको मन्त्रालयमा कार्यरत एक जना कर्मचारीले उल्लेख गरेका छन् ।

नसर्ने रोग जीवनशैली परिवर्तनबाट रोकथाम गर्न सकिने भएकोले कसैलाई सकेसम्म रोग लाग्न नदिऔँ’, ‘तर रोग लागिसकेपछि उपचार गर्नुपर्छ। समयमै पहिचान गरौँ।’भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको हो ।

यो अभियानमा मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण),रक्तचाप (ब्लडप्रेसर) मापन, मिर्गौलासम्बन्धी रोगको जाँच उचाइ र तौलको आधारमा बिएमआई मापन निःशुल्क परीक्षण गरिने व्यवस्था गरिएको समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसको लागि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले “नसर्ने रोग (मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका–२०८१ समेत तयार गरेको छ। नेपालको संविधानको घारा ३५ मा राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सम्बन्धमा हरेक नेपाली नागरिकलाई समान हक, दायित्व बोध गराएको अवस्था रहनुका साथै सन् २०१६ देखि नसर्ने रोग नियन्त्रणका लागि प्याकेज मार्फत् कार्यान्वयन गर्न सुरुवात गरिएको थियो । पछि २०२१ देखि २०२५ मा आधारित रहेर नसर्ने रोग नियन्त्रणका लागि प्याकेजको व्यवस्था गरिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टेकुमा आयोजना गरेको अभियानको उद्घाटन कार्यक्रममा रोगहरूको स्क्रिनिङ सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट विभिन्न क्रियाकलाप गरी गरिने इपडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशकले जनाएको छ । स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट फागुन महिनाभर नसर्ने रोगको अवस्था पहिचान गर्न लक्षित उमेर समूहका व्यक्तिहरूको स्वास्थय परीक्षणका साथै स्वास्थ्य प्रवद्र्धन तथा जोखिम न्यूनीकरणका लागि बृहत् क्रियाकलापहरू सबै प्रदेश र स्थानीय तहमार्फत सञ्चालन हुँदैछ।

लोकप्रिय