माओवादी केन्द्र एमालेकरण हुँदै गएकाेमा चिन्ता लाग्याे : प्रचण्ड

काठमाडौँ ,आश्विन ४ – सत्ताधारी घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो पार्टीकाे अवस्था हेर्दा विस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताएका छन्।
महान शहिद क सूर्यनाथ राम यादवको स्मृतिमा सोमबार माओवादी केन्द्रकाे केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रम अध्यक्ष दाहालले आफ्नो पार्टी विस्तारै एमालेकरणतर्फ अघि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
‘हाम्रो पार्टी विस्तारै विस्तारै एमालेकरण हुन थाल्यो। यस्तै भइरहने हो भने मैले भनिसकेको छु पार्टी छ नभने हुन्छ’, उनले भने, ‘मैले पार्टी सकिदिने भन्न खोजेको होइन। जनताको चाहनाअनुसार नचल्ने हो भने यस्तो सिद्धान्तहीन पार्टी चलाएर के काम भन्न खोजेको हो।’
माओवादी केन्द्रका नेताहरुमा विस्तारै विस्तारै व्यवहारमा एमालेका नेताको जस्तै व्यबहार देखिन थालेकाले चिन्ता बढाएको उनको स्पष्टोक्ति थियो।
नेता प्रचण्डले समाजको विकास र न्यायको निम्ति पनि पार्टी र नेताहरुलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता थाहा पाए पनि केही साथीहरुले आफूलाई आत्मसमर्पण गरेको उनले बताए। एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै नेता प्रचण्डले एमालेको कुनै सिद्धान्त नरहेको बताए।
थोरै मेहनत गरे माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउनसक्ने उनले दावी गरे। उनले माओवादी केन्द्रले मात्रै साँचो अर्थमा
समाजवादी क्रान्तिको रणनीतिमा देशलाई अघि बढाउनसक्ने जिकिर गरे।
‘नेकपा माओवादीले नै जनता र समाज साथै समाजवादी क्रान्तिको रणनीतिमा आफूलाई अघि बढाउँछ, नेकपा माओवादी नाम त छ, विज्ञापन जस्तो तर जनयुद्ध लड्ने योद्धाहरु भनेर चिनिनुपर्ने ठाउँमा चिनिँदैनन्, नाम छ, तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन्’ नेता प्रचण्डले थपे, ‘को कांग्रेस, को माओवादी, को एमाले ? त्यसैले हामीले थोरै मेहनत ग¥यौं भने अब आउँदो चुनावमा एक नम्बर हुने सम्भावना छ ।’
उनले फेरि एकपटक सम्पूर्ण कम्युनिष्टहरुले सोच्नुपर्ने बेला आएको भन्दै कम्युनिष्टहरुले नेतृत्व नगरे अरुले बिगार्नेमात्रै देखिएको हुँदा सबै कम्युनिष्टहरुले आँखा चिम्लेर भए पनि देश र जनताको लागि सोच्नुपर्ने बताए।
प्रतिकृया दिनुहोस्