ओलीको पछि लागेर राजनीतिक भविष्य समाप्त पार्ने नेताहरु !

ओलीको पछि लागेर राजनीतिक भविष्य समाप्त पार्ने नेताहरु !

काठमाडौ-पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली समुदायमा जुन प्रकारको आशा र भरोसा थियो त्यो आशा र भरोसा उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा चकनाचुर भयो ।

ओलीले जब सत्ताको चावी आफूँले लिए तबदेखि नै उनी विभिन्न विवादित कार्यहरु गर्न तल्लिन भए । फलस्वरुप उनी ५ वर्षका लागि प्रधानमन्त्री बनेका भएपनि ३ वर्षमै सत्ताबाट बाहिरिए ।

एमाले अध्यक्ष समेत रहेका ओली पहिलो पटक (२०७२) मा प्रधानमन्त्री बन्दा अघि सारेका जनप्रेमी मुद्दाहरु दोस्रोपटक शक्तिशाली प्रधानमन्त्री बनेपछि कहिल्यै सम्बोधन नै गर्न चाहेनन् ।

ओलीले सबै नेपालीलाई म नेतृत्वको सरकारले सुती सुती खान दिन्छ मात्र भनेका थिएनन् घर घरमा ग्यासको पाइपलाइन, पानीजहाज, रेल, मेट्रोरेललगायत कयौं सपनाहरु नेपाली जनतासामू बाँडेका थिए ।

तर, उनले दोस्रो पटक शक्तिशाली प्रधानमन्त्री बन्दा ती विषयहरुमा एक शब्दसमेत नबोली सरकारबाट बाहिरिनुपर्‍यो । उनी सत्ताबाट बाहिरिने मात्र एक भएको कम्युनिष्ट पार्टी तीन टुक्रामा विभाजित हुनु पर्‍यो ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै कारण शक्तिशाली कम्युनिष्ट पार्टीमात्र टुक्रिएन नेपाली जनताले आशा गरेका कयौं नेताहरु नालायक सावित भएका छन् ।

त्यसरी नालायक बन्नेहरुमा अधिकांश दोस्रो पुस्ताका नेताहरु रहेका छन् । भविष्यमा राजनीतिमा उच्च सम्भावना बोकेका भएपनि डा. भीम रावल, सुवास नेम्वाङ्ग, योगेश भट्टराई, डा. सुरेन्द्र पाण्डे, रघु विष्ट, घनश्याम भुसाल, गोकर्ण विष्ट, राम बहादुर थापा ‘बादल’, टोप बहादुर रायमाझी, शेर बहादुर तामाङ लगायतका नेताहरु जनतामाझ नालायक सावित भएका हुन् ।

राजनीतिक क्षेत्रमा यी नेताहरुकोे त्याग, तपस्या र बलिदानी त थियो नै तर ओलीको चंगुलमा परेका कारण यी नेताहरुको राजनीतिक भविष्य संकटमा परेको छ । डा. भीम रावलले पछिल्लो समय आफूँलाई राष्ट्रवादी र संविधानको पक्षमा उभिने खम्बा नेताका रुपमा परिचित गराएका थिए ।

रावलले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संघीय संसद विघटन गर्दा र एमसीसीलाई संसदबाट अनुमोदन गराउने प्रयास गर्दा कडा आपत्ति जनाउँदै ओलीको कार्यशैलीको तीव्र विरोध गरेका थिए । सोही कारण उनले देशभरी नै वाहवाही कमाएका थिए ।

डा. रावल पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधव कुमार नेपालको पक्षमा समेत रहँदै आएका थिए । एमाले फुटसँगै उनले माधवकुमार नेपाललाई धोका दिएर केपी ओलीले नेतृत्व गरेको एमालेमा फर्किसँगै उनको साखः गिरेको छ । उनी यतिबेला धोकेवाज नेताका रुपमा ठहरिएका छन् ।

ओली प्रधानमन्त्री बन्दा योगेश भट्टराई, शेर बहादुर तामाङ, घनश्याम भुसाल, गोकर्ण विष्ट लगायतका नेताहरु ओली सरकारको मन्त्रिमण्डलमा रहेका थिए । जब प्रधानमन्त्री ओलीले ०७७ पुस ५ गते संसदको हत्या गरे तब उनीहरु ओलीको कदमविरुद्ध (तामाङबाहेक) खुलेआम भाषण गर्न थाले ।

ओलीलाई प्रतिगामी भन्दै सडक आन्दोलहरुमा समेत सहभागि भए । ओलीका गलत कदम विरुद्धमा निरन्तर खबरदारी गर्दै आएका माधव कुमार नेपालको पक्ष लिईरहे । उनीहरुले वरिष्ठ नेता नेपाललाई पार्टी फुटाउन सुझाए ।

नेता नेपालले नयाँ पार्टी दर्ता गरेपछि भने यी नेताहरु ओलीसँगै फर्किए । नेता नेपाललाई धोका दिएपछि मुलुकमा विधि, विधान र पद्दतिको आधारमा मुलुक चल्नुपर्छ भन्ने चाहना राख्नेहरुले यी नेताहरुलाई विश्वास गर्न छाडेका छन् । यसको असर अर्को निर्वाचनमा पर्ने देखिन्छ ।

ओलीको पछि लागेर आफ्नो राजनीतिक क्यारियर समाप्त पार्ने नेतामा सुवास नेम्वाङ्ग पनि एक हुन् । उनी पूर्व सभामुख समेत हुन् । कानुनमा उच्च दख्खल राख्ने नेता नेम्वाङ्ग संविधान विज्ञ हुन् भन्ने जनमानसमा बुझाई थियो ।

तर, ओलीले संविधानको मर्म र भावना विपरित संसदको भंग गर्दा ओलीको समर्थन गर्दै संसद विघटनको विषयमा बोले त्यतिबेला देखि नै नेम्वाङ्ग आलोचित बन्न थाले । ओलीले आफ्नो असक्षमताका कारण संसद विघटन गरेसँगै जनआक्रोश बढिरहेकै बेला सुवास नेम्वाङ्गले संसद विघटन गर्नु बाध्यता रहेको बताउँदै आएको भएपनि सर्बोच्च अदालतले संसद पुर्नस्थापना गरिदिएको थियो ।

यससँगै नेम्वाङ्गको नियतमाथि प्रश्न सिर्जना भएको थियो । नेम्वाङ्गले प्रधानमन्त्री ओलीले गरेको गल्तीलाई ढाकछोप गरेपछि उनी आलोचित बन्न पुगेका हुन् । नेता नेम्वाङ्गले कुनै समय प्रधानमन्त्रीले चाहाँदैमा संसद विघटन गर्न नसकिने धारणा राखेका थिए । त्यसको भिडियो समेत सामाजिक सञ्जालमा भाइरस बनेको थियो ।

त्यसैगरी मन्त्री पद जोगाउनका लागि तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’, टोप बहादुर रायमाझी, प्रभु साह लगायतका पार्टी छाडेर मन्त्री पद जोगाउने नेताहरु पनि यतिबेला घर न घाटको बन्न पुगेका छन् ।

तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले एक भई गठन भएको नेकपा पार्टी सर्बोच्च अदालतले बैधानिक नभएको भन्दै पुरानै अवस्थामा फर्काइदिएपछि थापा, रायमाझी र साह माओवादी केन्द्र त्यागेर एमालेमै समाहित भएका थिए । तर सत्ताबाट बाहिरिएपछि भने उनीहरु न त एमालेमा सम्मानजनक ठाउँ पाएका छन् न त माओवादी केन्द्रमै फर्किन सकेका छन् ।

यसर्थ ओलीका पछि लाग्दा भविष्यमा राम्रो राजनीतिक सम्भावना बोकेका भएपनि क्षणिक स्वार्थमा लाग्दा नेताहरुको भविष्य अन्धकार बन्न पुगेको छ । नेतालाई आम सर्वसाधारणले आफ्नो अभिभावक ठान्दछन् ।

जनताले आफ्ना अभिभावकले राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा अडान राखोस् भन्ने चाहान्छन् । तर, यी नेताहरुले जनभावनामाथि खेलवाड गरेको छ, आफूँलाई भोट दिने जनतालाई धोका दिएको छ । उनीहरु आफैँले आफैँलाई नालायक र धोकेबाज सावित गरेका छन् ।

लोकप्रिय