सुविधा बढाउन बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीको माग

सुविधा बढाउन बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीको माग

 

काठमाडौ । नेपाल निजामती कर्मचारी संगठन बुढानीलकण्ठ नगर कार्य समितिले बुढानीलकण्ठ नगरपालिकामा कार्यरत स्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको हकहित सुनिश्चित गर्न माग गर्दै ८ बुँदे मागपत्र नगर प्रमुख समक्ष पेश गरेको छ।
समितिका अध्यक्ष शान्ति ढकालको अध्यक्षतामा आयोजित बैठकमा संघीय निजामती संगठनका महासचिव केदारप्रसाद देवकोटा प्रमुख अतिथिका रूपमा सहभागी थिए। बैठकमा कर्मचारीहरूको सुविधा, सेवाको प्रभावकारिता तथा मनोबल वृद्धिसम्बन्धी ८ बुँदे मागपत्र पारित गरिएको हो।
मागपत्रमार्फत कर्मचारीलाई दिइँदै आएको रु. ३३०० खाजाभत्ता वृद्धि गरी रु. ६६०० पुर्‍याउन, कटौती गरिएको इन्धन सुविधा पुनः यथावत् रूपमा उपलब्ध गराउन र वडा सचिव तथा प्रविधिकका लागि दुईपाङ्ग्रे सवारीसाधनको व्यवस्था गर्न माग गरिएको छ। साथै, निजी सवारी प्रयोग गर्दा मर्मत खर्च फिर्ता हुने व्यवस्था कार्यान्वयन, २ वर्ष सेवा पुगेका ज्यालादारी कर्मचारीलाई करारमा रुपान्तरण, र नगर अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा तथा कर्मचारी परिवारलाई ५० प्रतिशत छुटको व्यवस्था गर्न पनि अनुरोध गरिएको छ।
कर्मचारी व्यवस्थापनमा योग्यता र क्षमताका आधारमा पदस्थापन गर्नुपर्ने र संगठनका कार्यक्रम सञ्चालनका लागि दुई लाख रुपैयाँ बजेट व्यवस्था गर्नुपर्ने मागसमेत समावेश छ।
संगठनले नगरपालिकाको नीति तथा कार्यक्रमको प्रशंसा गर्दै त्यसको सफल कार्यान्वयनमा आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरेको छ। सेवा प्रवाहलाई अझ जनमुखी, उत्तरदायी र प्रभावकारी बनाउन कर्मचारीहरूको उत्प्रेरणा र सहभागिता आवश्यक रहेको जनाउँदै मागपत्र तत्काल सम्बोधन गर्न नगर प्रमुखसँग अनुरोध गरिएको छ।

लोकप्रिय