कृषकलाई आधुनिक कृषि उपकरण प्रदान

कृषकलाई आधुनिक कृषि उपकरण प्रदान

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय नुवाकोटले कृषि समूह, कृषि फर्म तथा किसानहरूलाई विभिन्न १९ प्रकारका आधुनिक यन्त्र उपकरणहरू प्रदान गरेको छ। जसमा धान, आलु र तरकारी खेती गरिरहेका किसानहरूलाई कृषि उपकरणहरु प्रदान गरेको हो ।

यसबाट नुवाकोटका किसानहरू उत्पादन बढोत्तरीतर्फ केन्द्रित गर्ने उद्देश्यले किसानको फर्ममा स्थलगत अनुगमन गरेर उपरण दिने र अनुगमन कार्यलाई निरन्तरता दिने कार्य भइरहेको छ।

कृषि प्राविधिसहितको टोलीले गाउँमै पुगेर बेलकोटगढी नगरपालिका–१३ मदानपुरमा किसान तथा कृषि समूहहरूलाई आधुनिक कृषि यन्त्र हस्तान्तरण गरेको हो ।

धान जोनमा एक सय ६५ वटा कृषि फर्म तथा समूहमा एक हजार तीन सय ४४ जना सदस्य आबद्ध रहेको किसान तथा कृषि समूहलाई यस वर्ष पेट्रोल मिनिट्रिलर एक सय ९५ थान, डिजेल मिनिट्रिलर पाँच थान, पावर ट्रिलर १२ थान, स्प्रेयर दुई सय ५७ थान, पेडल थ्रेसर २० थान र कम्माइन मिल २२ थान हस्तान्तरण गरिएको छ ।

आलु जोनमा एक सय १८ वटा कृषि फर्म तथा समूहमा तीन हजार जना सदस्य आबद्ध रहेका छन् भने त्यसको लागि एक सय ४६ थान मिनिट्रिलर र ८७ थान स्प्रेयर वितरण गरिएको छ ।

यसैगरी, नयाँ तरकारी जोनमा एक सय ६ वटा कृषि फर्म तथा समूहमा तीन हजार नौसय १० जना सदस्य आबद्ध रहेका छन् भने त्यसको लागि ७० थान पेट्रोल मिनिट्रिलर, ६१ थान डिजेल मिनिट्रिलर, एक सय ४४ थान स्प्रेयर, चार थान पावर स्प्रेयर र २५ थान व्रस कटर प्रदान गरिएको छ ।

यसैगरी, बाख्रा जोनमा एक सय ५७ वटा कृषि फर्म तथा समूहमा तीन हजार सदस्य आबद्ध रहेका छन् भने त्यसतर्फ १७ थान घाँस मिलाउने मेशिन, चार थान दाना बनाउने मेशिन, ३३ थान मकै छोडाउने मेशिन, चार थान विक्स मिल घट्ट र आठ थान तराजु हस्तान्तर गरिएको छ।

लोकप्रिय