आगामी आ.व.का लागि सहिद लखनले ल्यायो झण्डै ६० करोडको बजेट

आगामी आ.व.का लागि सहिद लखनले ल्यायो झण्डै ६० करोडको बजेट

गोरखा । सहिद लखन गाउँपालिकाको सत्रौं गाउँसभा सोमबार आज (असार ९ गते) सम्पन्न भएको छ । गाउँपालिकाले आगामि आर्थिक बर्षमा आन्तरिक स्रोतबाट रु २ करोड ३७ लाख ८० हजार रुपैयाँ राजस्व प्राप्त हुने अनुमान गरेको छ । त्यसैगरी संघ र प्रदेश सरकारबाट राजस्व बाँडफाँडमा प्राप्त हुने मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, विद्युत रोयल्टी, घरजग्गा दर्ता दस्तुर, सवारी साधन कर लगायतका शीर्षकहरूमा रु ११ करोड ६१ लाख ७४ हजार १ सय ९२, संघीय समानीकरण अनुदानबाट रु १४ करोड १६ लाख, संघीय सशर्त अनुदान चालु रु २४ करोड ९८ लाख, संघीय सशर्त अनुदान पूँजीगत रु २१ लाख, संघीय विशेष पूँजीगत अनुदान रु १ करोड ६ लाख, संघीय समपूरक अनुदान पूँजीगत रु ८७ लाख प्राप्त हुने अनुमान रहेको छ ।

त्यसै गरी गण्डकी प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदान तर्फ रु १ करोड ९९ लाख ७८ हजार, प्रदेश समपूरक अनुदान पूँजीगतमा रु ६० लाख र प्रदेश विशेष अनुदानमा रु ४० लाख गरी प्रदेशबाट रु २ करोड ९९ लाख ७८ हजार, गत वर्षको नगद मौज्दात अनुदान र जनसहभागिता समेत गरी आगामी आर्थिक वर्षका लागि रु ५९ करोड ८२ लाख ८७ हजार १ सय ९२ रकम बराबरको विनियोजन गरिएको छ ।

उक्त रकम चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको रकमभन्दा करिब १ प्रतिशत कम छ । विनियोजित रकममध्ये करिब २२ प्रतिशत पूँजीगत र ७८ प्रतिशत चालू खर्च रहेको छ । विषय क्षेत्रगत विनियोजन तर्फ २.४ प्रतिशत रकम आर्थिक विकास क्षेत्रमा, १०.४ प्रतिशत रकम सामाजिक विकास क्षेत्रमा, १४.२ प्रतिशत रकम पूर्वाधार विकास क्षेत्रमा, २.७ प्रतिशत सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र (वन वातावरण तथा विपद् व्यवस्थापन समेत), कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च (तलब भत्ता समेत) १८.६ प्रतिशत, सशर्त र विशेष अनुदान अन्तर्गतका योजना कार्यान्वयनका लागि ५१.७ प्रतिशत रकम विनियोजन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

लोकप्रिय