एमएमए फाइटर ढाटलाई पाँच लाख दिने सरकारको निर्णय
काठमाडौं । सरकारले एमएमए फाइटर रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँ दिने घोषणा गरेको युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले बताए ।
मन्त्री चौधरीले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नको लागि छिट्टै युवा नीति ल्याउन लागेको घोषणा गरेका छन् । उनले युवाहरुको लागि सिप विकास, उद्यमशीलता र रोजगारी सिर्जनको लागि आफू दत्तचित्त भएर लागिपरेको बताए ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘म पनि केही गर्न सक्छु भनेर प्रतिबद्धता लिनको लागि युवाहरुलाई म आग्रह गर्दछु । देशको विकास र नेतृत्व तहमा पुग्नेगरि सकारात्मक पहल लिनुहोस ।’
तल्लो तहदेखि युवाहरुलाई अघि बढाउनको लागि सिप विकास गर्नको लागि, उद्यमशील बनाउनको लागि र रोजगारी सिर्जना गराउनको लागि आफू नेतृत्वको मन्त्रालय गम्भीर भएर लागिपरेको मन्त्री चौधरीको भनाई छ ।
उनले अब देशमा आन्दोलन र सत्ता परिवर्तनको कुनै खाँचो नभएको बताए । देशमा केवल विकास, रोजगारी र समृद्धिको खाँचो रहेको मन्त्री चौधरीको भनाई छ ।
उनले भने,‘हामी सबै प्रवन्ध गर्दछौं । हाम्रा युवाहरु आईटीमा, एआईमा पनि अघि बढिरहेका छन् । यो सरकारले युवाहरुको रोजगारी सिर्जना गर्न यो वर्ष १ लाख १२ हजार युवाहरुलई रोजगारी दिने भनेको छ । सातवटै प्रदेश, स्थानीय तह सबैसँग सहकार्य गरेर अघि बढेका छौं ।’ लोकतान्त्रिक सरकारले मिडियामाथि लगाम लगाउने काम नगर्ने भन्दै मिडिया काउन्सिल विद्येयकमा केही कमजोरी भए सच्याउने पनि मन्त्री चौधरीले विश्वास दिलाए ।
म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने हिजोको मन्त्रिपरिषद्बाट निर्णय भएको पनि उनले सुनाए ।


प्रतिकृया दिनुहोस्