एमसीसीमा सहिछाप भैसकेकोले यसमा संसोधन हुन सक्दैन, राष्ट्रिय सहमतिमै अघि बढाउँछौं : परराष्ट्रमन्त्री खड्का

काठमाडौं,असाेज ११ । राष्ट्रसंघीय महासभामा भाग लिन नेपालकाे प्रतिनिधित्व गर्दै न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले सर्वाधिक विवादित रहेकाे अमेरिकी अनुदान सम्झौता एमसीसी संशोधन हुन नसक्ने बताएका छन् । गैरआवासीय नेपाली संघले न्यूयोर्कमा आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री खड्काले एमसीसीमा नेपालकाे तर्फबाट सहिछाप भैसकेको भन्दै यसमा संसोधन हुन नसक्ने बताएका हुन् ।
सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीले चाहिँ संसोधन बिना एमसीसी अनुमोदन हुन नसक्ने बताइसकेका छन् । यसै महिनाको सुरुआतमा नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमारले पनि एमसीसी संसोधन हुन नसक्ने बताएकी थिइन् ।
परराष्ट्रमन्त्रीले भने, ‘‘ पहिला सहि छाप गर्दा किन नहेरेको । एमसीसी परियोजना भनेकाे अनुदान हो । जुन हामीले मागेको हो । संशोधन गर्नुपर्ने भए किन नपढ्नु भएको त त्यति खेर । सबै दलको राष्ट्रिय सहमति प्राप्त गरेपछि अघि बढ्ने हो ।’
एमसीसीको अन्तर्राष्ट्रिय मापदण्ड रहेको बताउँदै उनले नेपालले संशोधन गर्दा एमसीसी लागू भएका देशसमेत प्रभावित हुने भएकाले यो कठिन हुने उनले बताए ।
परराष्ट्रमन्त्री खड्का सामाजिक सञ्जालबाट आक्रोशित सुनिए । उनले भने, ‘गाउँगाउँमा एमसीसी गलत भनेर छरिएको छ । म आफ्नो जिल्लामा जाँदा कुटाइ खाइएला भन्ने डर भइसक्यो । माइतीघर मण्डला खबरदार एमसीसी पास गरेपछि तिमीलाई मार्छौ भन्ने नारा लाग्छ ।’
‘सबै दलका नेतृत्वले नै यदि संशोधन गर्ने नै हो भने त्यतिबेला पास गर्न दिनुहुँदैन थियो’ उनले भने ।
पूर्वप्रधानमन्त्री केपी ओलीले जसरी पनि एमसीसी पास हुने बताए पनि अहिले चुप लागेको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘ओली सत्ता बाहिर गएपछि संशोधन भएर मात्रै पास हुनुपर्छ भन्नुभएको छ । हामी राष्ट्रिय नेता जवाफदेही हुनुपर्छ । बारम्बार संशोधन गर्दा के पर्छ असर भनेर । अहिले केपी ओली सरकार बाहिर आएपछि संशोधन गर्नुपर्छ भन्नुभयो ।’
एमसीसी नेपालको आवश्यकता भएको कुरा सबै राजनीतिक दललाई थाहा भएको बताउँदै उनले बाहिर हल्ला गरेजस्तो एमसीसी नभएको जिकिर गरे ।
प्रतिकृया दिनुहोस्