सम्पूर्ण ज्येष्ठ नागरिककाे नाममा निःशुल्क बिमा गराउने प्रधानमन्त्री देउवाको घोषणा

सम्पूर्ण ज्येष्ठ नागरिककाे नाममा निःशुल्क बिमा गराउने प्रधानमन्त्री देउवाको घोषणा

काठमाडौं आश्विन १५ – प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक भनेकाे नै अनुभव र व्यवहारमा परिपक्वतायुक्त सम्मानित व्यक्तित्व भएकाे स‌ंज्ञा दिएका छन् ।

आज ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना सन्देश व्यक्त गर्दै देउवाले जीवनको लामो समय राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक आर्थिक रूपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको बताएका छन् ।

यस वर्ष अन्तर्राष्ट्रिय  संस्था संयुक्त राष्ट्रसंघले ज्येष्ठ नागरिक दिवसका लागि सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता नारा तय गरेको छ ।

दिवसकै अवसरमा प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्बर्द्धनका क्षेत्रमा क्रियाशील निकायलाई कार्यक्रम सञ्चालन गर्दा ज्येष्ठ नागरिकलाई समेत प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिन आग्रह गरे ।

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई महत्त्व दिँदै नागरिक स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्ता, ७ वटै प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माण गर्ने, हरेक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने र अन्य स्वास्थ्य संस्थामा पनि ज्येष्ठ नागरिकका सुविधा र उपकरणको स्तरोन्नति गर्ने प्रधानमन्त्री देउवाले प्रतिवद्धता व्यक्त गरे ।

सबै ज्येष्ठ नागरिकलाई निःशुल्क प्रिमियम सहितको बिमा गराउने, यातायात् सेवामा ज्येष्ठ नागरिकका लागि सिट आरक्षण र भाडा छुट जस्ता सुविधाको व्यवस्थालाई महसूस हुने गरी कार्यान्वयन गरिने देउवाले जनाएका छन् ।

हाल कोभिड–१९ संक्रमणको महामारीबाट विश्व आक्रान्त रहेको अवस्थामा समस्त ज्येष्ठ नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्डको अवलम्बन गरी स्वस्थ्य रहन अनुरोध गर्दै प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकलाई प्राथमिकताका साथ सेवासुविधा प्रदान गरी उच्च सम्मान व्यक्त गर्न सम्वद्ध सबै सरोकारवाला निकायलाई आग्रह समेत गरेका छन् ।

सभापति देउवाले सामाजिक, सांस्कृतिक परम्पराअनुरूप परापूर्वकालदेखि कायम रहँदै आएको आफूभन्दा ठूलाको आदर, सत्कार, सम्मान र कदर गर्ने संस्कारलाई प्रवद्र्धन गर्न सबै नेपाली नागरिकलाई आग्रह गर्दै शुभकामना दिएका छन् ।

 

लोकप्रिय