बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
काठमाडौं । बालविकास र कुशल अभिभावकत्वको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित हुनुभएको छ ।
ठाँटी मिडियाद्वारा आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा यही साउन १६ गते शनिबार राजधानीमा आयोजित विशेष कार्यक्रममा थापालाई सम्मान गरिएको हो ।
समाजसेवी तथा नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक रमेश खरेलको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा थापासहित विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुयाएका व्यक्तित्वहरु सम्मानित भएका छन् ।
सम्मानित हुनेमा साहित्यकारहरु सरस्वती ज्ञवाली, शोभा अधिकारी, बैङ्कर सुनील केसी, धर्मपाल गुरु वशिष्ट, शिक्षासेवी गोपीकृष्ण न्यौपाने, अधिवक्ताहरु कुमार प्रसाद भट्टराई र लीलादेवी धमला, समाजसेवीहरु माता सुमी मानव र समाजसेवी लक्ष्मी बस्नेत, राससका पत्रकार प्रकाश सिलवाल, श्रमिक सरोकार समाज नेपालका अध्यक्ष प्रभा पोखरेल र युवा उद्यमी राजु गौतम थिए ।
यस्तै नेपाल–भारत उद्योग वाणिज्य संघका निर्देशक मार्सल राठौर, ‘इट फिट’ नामक घरेलु खाद्यान्न उत्पादक कम्पनीका अध्यक्ष रजिना भट्टराई, नौमती वाद्यवादक कृष्ण दर्जी, सिग्मा प्राइम इन्भेष्टमेन्टका सञ्चालक विष्णुप्रसाद ढकाल, गीताञ्जली कलेजका प्राचार्य वेदप्रसाद पन्त, चलचित्र फोटोग्राफर रेखा लामिछाने लगायतलाई पनि सम्मानि भएका थिए ।

को हुन् मथुरा थापा ?
मथुरा थापा ‘हाम्रो बालापन नेपाल’को संस्थापक अध्यक्ष हुनुहुन्छ । आफ्नो व्यवसायिक जीवनलाई पूर्व प्राथमिक शिक्षकको रुपमा सुरुवात गरेकी उहाँको यही क्षेत्रमा २२ वर्षदेखि निरन्तर क्रियाशील रहँदै आईरहनु भएको छ । पूर्व प्राथमिक विद्यालयको शिक्षक भएर काम गरेकी उहाँ समयक्रममा पूर्व प्राथमिक विद्यालयको प्राचार्य भएर काम गर्नु भयो । जसले गर्दा विद्यालयको ब्यवस्थापन र नेतृत्वको पनि प्रत्यक्ष अनुभव हासिल गर्नुभएको छ ।
आफ्नो व्यावसायिक दक्षता बढाउनका लागि उहाँले पद्य्म कन्या क्याम्पसबाट बाल बिकासमा स्नातकोत्तर गर्नुभएको छ भने सय भन्दा बढी विद्यालयमा उहाँले पूर्व प्राथमिक शिक्षाको विषयमा अनुसन्धान पनि गर्नु भएको छ । त्यसैगरी इसिइसि, नर्वेवियन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट एक वर्षे पूर्व प्राथमिक शिक्षकको एक वर्षे पोष्ट ग्राजुयसन गर्नु भएको छ ।
अध्ययन पछिको समयमा उहाँले आफूले सिकेको, अनुभव गरेको ज्ञान बाँड्ने, सिकाउने र सिक्ने क्रममा नेपालका सातै प्रदेशका विभिन्न जिल्लाहरुका निजी, सरकारी, सामुदायिक विद्यालयमा जाने र त्यहाँका शिक्षक शिक्षिकाहरुलाई तालिम दिइरहनुभएको छ ।
त्यसैगरी थापा अध्यक्ष रहेको हाम्रो बालापन नेपालले बालबालिकाको सर्वाङगीण विकास (शारिरिक, सामाजिक, बौद्धिक र भावनात्मक विकासका पक्षलाई)लाई केन्द्रमा राखेर शिक्षक, अभिभावकलाई तालिम समेत प्रदान गरिरहेको छ । बालविकास र आधारभुत तह (कक्षा १–३ सम्मका) कक्षाहरु मा बालमैत्री खेल सामाग्री र शिक्षण सिकाई सामाग्री उपलब्ध गराउँदै आईरहेको छ । थापाले ‘नानी र हामी’ र ‘कोमल अभिभावकत्व’ नामक बालविकाश र अभिभावसँग सम्बन्धित दुई पुस्तक समेत प्रकाशित गर्नुभएको छ ।


प्रतिकृया दिनुहोस्